काठमाडौँ । पछिल्लो समय व्यक्तिगत तवरबाट श्रम स्वीकृति लिएर विदेश जानेको संख्या बढ्दै गएको छ ।
विगतमा मेनपावर कम्पनीबाटै वैदेशिक रोजगारीमा जाने गरेकामा पछिल्लो समय भने व्यक्तिगत तवरबाट श्रम स्वीकृति लिनेको संख्या बढेको हो ।
आर्थिक वर्ष २०७८/७९ मा २६ हजार ७४० जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका थिए भने २०७९/८० मा ७९ हजार १७७ जना र २०८०/८१ मा ९५ हजार ३८ जनाले व्यक्तिगत तवरबाट श्रम स्वीकृति लिएका छन् ।
आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०८०/८१ मा व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या तेब्बरले वृढि भएको पाइएको छ ।
यता, मेनपावरबाट भने आर्थिक वर्ष २०७८/७९ मा ३ लाख १२ हजार ४१६ जनाले श्रम स्वीकृति लिएका थिए । यस्तै, २०७९/८० मा ४ लाख ३ हजार ६७१, र २०८०/८१ मा ३ लाख ५३ हजार १६३ जनाले श्रम स्वीकृति लिएका थिए । यो नयाँ श्रम स्वीकृति लिनेको मात्र संख्या हो ।
माथिको तथ्यांकलाई आधार मान्दा व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको छ भने मेनपावर कम्पनीबाट श्रम स्वीकृति लिनेको संख्या घटेको छ ।
चालु आर्थिक वर्षको चैतमा मात्रै जम्मा ७३ हजार ४०३ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा व्यक्तिगत तवरबाट १० हजार ४३५ जनाले श्रम स्वीकृति लिएका छन् ।
चैत महिनामा व्यक्तिगत तवरबाट नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४२ हजार ६८४ छ । जबकि मेनपावर कम्पनीहरूबाट २९ हजार १८५ जनाले मात्र वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।
चैत महिनामा युएईका लागि मात्र १५ हजार ५५ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् । सरकारले मागपत्र प्रमाणीकरण नगरिदिँदा युएईमा व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या बढेको हो ।
यस्तै, युएईपछि सबैभन्दा धेरै व्यक्तिगत श्रम स्वीकृतिको गन्तव्य बनेको मुलुक साउदी अरेयिबा छ । चैत महिनामा साउदी अरेबियाका लागि ६ हजार ४६४ जनाले श्रम स्वीकृति लिएका छन् ।
यस्तै, कतारका लागि २ हजार ५२८ जनाले व्यक्तिगत श्रम स्वीकृति लिँदा कुवेतका लागि २ हजार ५२० जनाले श्रम स्वीकृति लिएका छन् ।
-
‘व्यक्तिगत श्रम स्वीकृतिले बेथिति र विसंगतिको चाङ बनायो’
व्यक्तिगत श्रम स्वीकृतिले वैदेशिक रोजगारको क्षेत्रमा बेथिति र विसंगतिको चाङ बनाएको वैदेशिक रोजगार व्यवसायी महासंघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।
व्यक्तिगत श्रम स्वीकृति लिने कारणले गर्दा कल्सल्टेन्सीले मेनपावरको काम गरिरहेको उनको भनाइ छ ।
‘व्यक्तिगत श्रम स्वीकृतिका कारण वैदेशिक रोजगार क्षेत्र नै अस्तव्यस्त भएको छ,’ उनले भने, ‘यसलाई न मन्त्रालयले रोक्न सकेको छ न विभागले नै रोक्न सकेको छ ।’
उनले यो क्षेत्रलाई मर्यादित बनाउने हो भने यस्तो नीतिको अन्त्य हुनुपर्ने बताए । व्यक्तिगत श्रम स्वीकृति बिचौलियाहरूले ल्याएको बताउँदै उनले बिचौलिया पोस्ने काम तत्काल अन्त्य हुनुपर्ने बताए ।
सरकारले मागपत्र प्रमाणीकरण बन्द नगरिदिँदा यस्तो समस्या निम्तिएको उनले बताए । उनले भने, ‘युरोपमा नै ठुलो संख्यामा जाने गर्छन् । तर, मागपत्र प्रमाणीकरण युरोपमा रोकिएको छ । गल्फ कन्ट्रीलाई मागपत्र प्रमाणीकरण गर्न मापदण्ड छ, तर युरोपमा छैन ।’
-
सीप सिकेर बाहिरिनेको संख्या बढ्यो
चालु आर्थिक वर्षमा बाहिरिएकामध्ये २१ हजार युवा रोजगारीको सिलसिलामा कुनै पनि सीप नै नसिकी बाहिरिएका छन् । सरकारले वैदेशिक रोजगारीमा जानेलाई सीप अनिवार्य गरे पनि अझै पनि बिनासीप बाहिरिनेको संख्या घट्न सकेको छैन ।
९ महिनामा मात्रै २१ हजार ६९५ जना युवा बिना कुनै सीप बाहिरिएका छन् । जसमध्ये १९ हजार ५९७ जना पुरुष छन् भने २ हजार ९८ जना महिला छन् ।
यस्तै, कुनै न कुनै सीप सिकेर ३७ हजार ५४६ जना पुरुष र ४ हजार ९०५ जना महिला गरी ४२ हजार ४५४ जना रोजगारीका लागि गएका छन् ।
सो अवधिमा ८ हजार ८९९ जना अर्धदक्ष कामदार बाहिरिएका छन् । यस्तै, विज्ञता हासिल गरेका र उच्च दक्ष कामदार भने न्यून मात्रामा मात्र बाहिरिएको तथ्यांकले देखाएको छ ।
विज्ञता हासिल गरेका २७७ जना बाहिरिँदा उच्च दक्ष कामदार भने ७८ जना मात्रै बाहिरिएका छन् ।
-
काठमाडौँबाट बाहिरिए ८०० भन्दा बढी कामदार
चैत महिनामा काठमाडौँबाट मात्रै ८१४ जना श्रमिक बाहिरिएका छन् । यस्तै, भक्तपुरबाट ४३७ र ललितपुरबाट ४७१ जना बाहिरिएका छन् ।
चैतमा धनुषाबाट मात्रै ४ हजार ४६७ जना बिदेसिएका छन् । यसैगरी, झापाबाट ३ हजार २९५, सुनसरीबाट २ हजार १६३, महोत्तरीबाट २ हजार ९९९, मोरङबाट २ हजार ९६६, रूपन्देहीबाट २ हजार २७९, सप्तरीबाट १ हजार ९४८, सर्लाहीबाट २ हजार ३२१, सिरहाबाट ३ हजार ३८४ जना विदेश गएका छन् ।
यस्तै, मनाङबाट ९ जना विदेशी मुलुकमा श्रमका लागि गएका छन् भने मुस्ताङबाट २५ जना र मुगुबाट ७३ जना बिदेसिएका छन् ।
-
रोजाइमा युएई
वैदेशिक रोजगारीमा जानेको पहिलो रोजाइमा युएई परेको छ । आकर्षक तलब र सेवा सुविधाले युएई श्रमिकको रोजाइमा परेको हो ।
चैतमा मात्रै युएईका लागि २३ हजार ६७१ जनाले श्रम स्वीकृति लिएका छन् । युएईका लागि व्यक्तिगत तवरबाट मात्रै १५ हजार ५५ जनाले स्वीकृति लिएका छन् ।
यस्तै, साउदी अरेबियाका लागि जम्मा १४ हजार ७७ जनाले श्रम स्वीकृति लिँदा व्यक्तिगत तवरबाट ६ हजार ४६४ जना बाहिरिएका छन् ।
यस्तै, कतारका लागि ११ हजार १४५ जनाले श्रम स्वीकृति लिँदा २ हजार ५२८ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् ।
यस्तै, चैत महिनामा मलेसियाका लागि ५ हजार ३४१ जना, कुवेतका लागि ४ हजार ५४० जनाले श्रम स्वीकृति लिएका छन् । यो नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या हो ।
-
कुन महिनामा कति बाहिरिए ?
विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८ जना, माघमा ७२ हजार ४४१ जना र फागुनमा ६८ हजार ९६३ जना र चैतमा ७३ हजार ४०३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।
-
भित्रियो साढे १० खर्बभन्दा बढी रेमिट्यान्स
चालु आर्थिक वर्षको ८ महिनामा साढे १० खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार फागुन मसान्तसम्म कुल रेमिट्यान्स १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ पुगेको हो ।
गत वर्षको सोही अवधिको तुलनामा यो ९.४ प्रतिशतले बढी हो । अमेरिकी डलरमा हेर्दा रेमिट्यान्स ६.९ प्रतिशतले बढेर ७ अर्ब ७४ करोड डलर पुगेको छ ।
फागुन महिनामा मात्रै १ खर्ब ५१ अर्ब ५९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । माघ मसान्तसम्म रेमिट्यान्स ९ खर्ब ५८ अर्ब रुपैयाँ थियो ।
फागुसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख १७ हजार ४०३ रहेको छ ।
प्रतिक्रिया