जाजरकोट । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आर्थिक सहयोगमा निर्माण गरिएको भेरी नगरपालिका–२ स्थित श्री शङ्कर भवन माध्यमिक विद्यालयको नवनिर्मितको भवनको आज हस्तान्तरण गरिएको छ । अष्ट्रेलियामा बस्ने नेपालीहरुबाट संकलित २५ हजार अस्ट्रेलियन डलरको सहयोगमा उक्त भवन निर्माण गरिएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ ।
उक्त भवनको एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले आज यहाँ आयोजित एक कार्यक्रममा उद्घाटन गरे । वि.सं २०७९ मा जाजरकोट भूकम्पका कारण क्षतिग्रस्त भवनको पुनःनिमार्णका लागि एनआरएन अष्ट्रेलियाको आर्थिक सहयोग र यार्सन जाजरकोटको प्राविधिक सहजीकरणमा भवन निर्माण गरिएको हो ।
अध्यक्ष पोखरेलले विद्यालयको भवन निर्माणमा सहयोग गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै आगामी दिनमा पनि यसप्रकारको सहयोगलाई निरन्तरता दिने बताए । ‘अष्ट्रेलियामा रहेका नेपाली समुदायका तर्फबाट भूकम्प गएको समयमा राहत वितरण समेत गरिएको थियो,’ उनले भने, ‘पछि विद्यालय निर्माणका लागि पनि सहयोग संकलन गरिएको थियो ।’
विद्यालय भवन निर्माण ८ महिना अघि सुरु भएको हो । उक्त भवनमा चालु शैक्षिक सत्रबाट भवनमा पठनपाठन पनि सुरु भइसकेको छ । ‘यो सहयोगका लागि अष्ट्रेलियामा रहेको विभिन्न संघसंस्था र व्यक्तिगरुको योगदान छ, आगामी दिनमा पनि यसप्रकारको सहयोग जारी रहनेछ,’ उनले भने ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रकाश सिंहले विद्यालय भवन निर्माणमा आर्थिक सहयोगका लागि एनआरएनए अष्ट्रेलियालाई धन्यवाद दिए । त्यसअवसरमा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष शम्भु गाइसी, एनआरएनए ओसियानाका क्षेत्रीय संयोजक दिनेश पोखरेललगायत विद्यार्थी र स्थानीयको उपस्थिती थियो ।
प्रतिक्रिया