पैँचो पसलले सर्वसाधारणमा सेयर जारी गर्नका लागि एनआईसी एशिया क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । दुई संस्थाका बीचमा भएको सम्झौता अनुसार क्यापिटलले पैँचौ पसलको साधारण सेयर निष्काशन सम्बन्धी सबै कामहरु पुरा गर्नेछ ।
बहुआयामिक क्षेत्रमा काम गर्दै आएको पैँचौ पसलले दुर्गम ग्रामीण क्षेत्रका साना तथा मझौला कृषि उपजका उत्पादक किसान तथा कृषिको सबलीकरण एवं बजारीकरणलाई केन्द्रमा राखेर सेवा दिँदै आएको छ । कृषि व्यवसायमा उद्यमशीलताको विकासलाई केन्द्रमा राखेर सेवा दिँदै आएको पैँचो पसलले पहाडी क्षेत्रमा उत्पादित तरकारी तथा कृषि उपज सिधै उपभोक्तासम्म पुर्याउँदै आएको छ ।
बीउ बिजनको उपलब्धतामा पनि भूमिका खेल्दै आएको कम्पनीले यसबाट कृषकका साथै दुर्गम क्षेत्रको कृषिमा योगदान पुर्याउन पहल गरिरहेको छ । २०७० सालमा स्थापित कम्पनीले देशका विभिन्न स्थानमा संकलन केन्द्र, प्रशोधन केन्द्र तथा तरकारी पसल सञ्चालन गरिरहेको कम्पनीले किसानहरुलाई सहज बनाउँदै उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने लक्ष्य लिएको छ ।
पैचो पसलले केचप, अचार तथा जाम जस्ता खाद्य परिकारहरु उत्पादन तथा प्याकेजिङ्ग गरी बिक्री वितरण गर्दै आइरहेको छ । पैचो पसल केवल खाद्य कम्पनी मात्र नभई, बीउ बिजन उत्पादन देखी उत्पादित बस्तु बजारसम्म किसानहरूसँग सहकार्य गर्दै ग्रामीण भेगमा बसोबास गर्ने समुदायहरूको आर्थिक र सामाजिक उत्थानमा समेत योगदान पु¥याउन सफल भएको छ । कम्पनीले प्राविधिक परामर्श, व्यवस्थापन, र बजार पहुँच सुनिश्चितता गर्दै कृषकहरुलाई खेतमै मात्र नभई खेतबाहिर पनि जीवनयापनका अवसरहरू सिर्जना गरिरहेको छ ।
आईपिओ निष्काशनबाट कम्पनीले पुँजीका साथै बजार र उपस्थितीको बिस्तारमा मद्धत मिल्ने अपेक्षा गरेको छ ।
प्रतिक्रिया