काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएको १ महिना पूरा भइसकेको छ । यसअघि ६ महिना मात्रै कार्यभार सम्हालेका उनले यो पटक कसरी काम गर्लान् ? भन्ने चासोको विषय बनिरहेको छ ।
यता, प्राधिकरण र उद्योगीबीच डेडिकेटेड र ट्रंकलाइन महसुलको विवाद चर्किरहेका बेला नियुक्त भएका उनलाई यो विषय पनि चुनौतीका रूपमा थपिएको थियो ।
३ प्रश्नको आजको अंकमा हामीले प्राधिकरणको १ महिनाको प्रगतिको विषयमा प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारसँग कुरा गरेका छौँ ।
-
नेपालमा फेरि लोडसेडिङ हुन लागेको हो ?
विद्युत् आपूर्तिमा अहिले कुनै पनि समस्या छैन । हामीले विज्ञप्ति जारी गरेर पनि भनिसकेका छौँ– सामाजिक सञ्जालमा फैलिएका अतिरञ्जित हल्ला भ्रामक हुने भनेर ।
अहिले कुनै पनि लोडसेडिङ भएको र आगामी दिनमा पनि घरायसी ग्राहकका लागि लोडसेडिङ हुने सम्भावना छैन । औद्योगिक क्षेत्रका ग्राहकलाई बेलुकाको समयमा खपत कम गरेर सहयोग गर्न हामीले अनुरोधसमेत गरेका छौँ ।
हालको मौसमका कारण कतिपय स्थानमा आँधीहुरी, चट्याङ र अविरल वर्षाले संरचनामा क्षति पुग्दा अस्थायी अवरोध भएको हुन सक्छ । मर्मत सम्भार, भूमिगत लाइन विस्तार, सडक तथा खानेपानीको निर्माण कार्यका कारण पनि कतैकतै विद्युत् बन्द हुने अवस्था आएको हो । यसलाई लोडसेडिङ भन्न मिल्दैन ।
हाल देशभर विद्युत्को जडित क्षमता ३ हजार ५१२ मेगावाट छ । यसमध्ये प्राधिकरणको स्वामित्वमा रहेका जलविद्युत् आयोजनाको ६६२ मेगावाट, सौर्य ऊजाबाट २५ मेगावाट, तापीय ५३ मेगावाट (हाल बन्द), सहायक कम्पनीका आयोजना ६२३ मेगावाट तथा निजी क्षेत्रबाट उत्पादित २ हजार १४९ मेगावाट छ ।
हाल आन्तरिक उत्पादन औसतमा १ हजार १७५ मेगावाट रहेकामा विद्युत्को उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट पुगेको छ । जसमध्ये १ हजार ५९३ मेगावाट उत्पादन भइरहेको छ भने बाँकी भारतबाट आयात गरेर आपूर्ति गरिएको छ ।
गर्मीयाम सुरु भएसँगै भारतमा पनि माग बढेकाले रातिको समयमा मागअनुसार विद्युत् आयातमा केही चुनौती भए पनि घरायसी ग्राहकलाई चौबिसै घन्टा तथा उद्योगलाई पनि अधिकांश समय आपूर्ति गरिँदै आएको छ ।
-
नयाँ कार्यकारी निर्देशक आएपछि डेडिकेटेड र ट्रंकलाइन महसुलको विषयमा केही उपलब्धि हासिल भएको सुन्नमा आएको छैन । यो विषयमा प्राधिकरणले के गर्दै छ ?
प्राधिकरणको बोर्ड बैठकले विगतमा छुट बिलिङको निर्णयउपर पुनरवलोकनको निवेदन दायर गर्ने ग्राहकले छुट बिलिङबापतको २५ प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्थालाई संशोधन गरी ५ प्रतिशत मात्रै जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ ।
उद्योगीहरूसँग सोमबार मात्र यो विषयमा छलफल भइसकेको छ । अहिलेसम्म बक्यौता बुझाउन कोही पनि आएको छैन । हामीले बाटो खुला गरिदिएका छौँ । अब उहाँहरू तिर्न आउनुपर्छ । अहिलेसम्म यो विषयमा उद्योगीहरू पनि साकरात्मक छन् । अब विस्तारै उठ्छ ।
-
शाक्यको नेतृत्व आएपछि प्राधिकरणले हासिल गरेका उपलब्धिहरू के–के हुन् ?
पहिला उद्योगहरूमा रातको समयमा १२ घन्टा लोडसेडिङ हुँदै आएको थियो । हामीले भारतबाट बिजुली ल्याएर लोडसेडिङलाई २–३ घन्टामा सीमित गरेका छौँ । यो नै अहिलेको मुख्य उपलब्धि हो ।
प्रतिक्रिया