पशुपति मुरारकासँग ३ प्रश्न

सिमेन्टको मूल्य किन बढाउनुभएको ?

‘राज्यले ध्यान पुर्‍याइदिएको भए देशकाे अवस्था कहाँ पुगिसक्थ्यो !’


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण र उद्योगीहरूबीचको टकराव अझै कायम छ । प्राधिकरणले भारतबाट बिजुली खरिद गरेर नेपालमा पूर्ण रूपमा लोडसेडिङ हटाएको बताउँदै आएको छ भने उद्योगीहरू रातको समयमा १२ घन्टा लोडसेडिङ भएको बताउँदै आएका छन् ।

लोडसेडिङका कारण उत्पादन लागत बढेको भन्दै उद्योगीहरूले उत्पादनको मूल्य नै बढाएका छन् । पछिल्लो समय फलामे डन्डी (रड) को मूल्य प्रतिकिलो ८८ रुपैयाँबाट ९४ रुपैयाँ पुर्‍याइएको छ भने ७५० रुपैयाँ रहेको सिमेन्टको मूल्य ७७१ रुपैयाँ पुर्‍याइएको छ ।

३ प्रश्नको आजको अंकमा हामीले सिमेन्टको भाउ र अन्य विविध विषयमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालक पशुपति मुरारकासँग कुरा गरेका छौँ ।

  • सिमेन्टको मूल्य किन बढाइयो ?

यो बिजुलीको दर जस्तै हो । बिजुलीको दर हिउँदमा महँगो हुन्छ । बर्खामा सस्तो हुन्छ । हामी पनि बर्खामा घाटा खाएर सिमेन्टको बिक्री गर्छौं । हिउँदमा भने बर्सेनि भाउ बढ्छ । यो वर्ष मात्र होइन, हरेक वर्ष यो समयमा भाउ बढ्छ ।

यहाँ मात्र होइन, भारतमा पनि भाउ बढ्छ । जब कामको सिजन हुँदैन, त्यतिबेला हामीले भाउ घटाएर बेच्छौँ । कामको सिजनमा अलिकति बढाएर बेच्छौँ । साधारण थपघट भइरहन्छ । भाउ भनेको माग र आपूर्तिका आधारमा निर्धारण हुन्छ ।

अहिले पनि रातको समयमा लोडसेडिङ छ । रातिको बत्ती दिउँसोको तुलनामा २० प्रतिशत सस्तो छ । दिउँसोभन्दा रातिको समयमा हामीलाई ‘कस्ट’ कम पर्ने हुन्थ्यो । तर, राति नै बिजुली काटिएपछि हाम्रो पनि ‘कस्ट’ बढी पर्न जान्छ । साढे ५ रुपैयाँ पर्ने बत्ती एकैचोटि महँगो भएपछि मूल्य बढाउनुपरेन ?

हुन त विद्युत् प्राधिकरणले पहिला पनि लोडसेडिङ भएको छैन भनेर झुट बोल्थ्यो । अहिले पनि झुट बोलिरहेको छ । तर, प्राधिकरणले बत्ती काटेकै कारण हाम्रो उत्पादनमा ह्रास आएको हो । अहिले माग बढी हुन्छ । यस्तो समयमा उत्पादन घटेपछि मूल्य बढाउनु परिहाल्छ ।

  • भारतीय बजारमा नेपाली सिमेन्ट सस्तोमा र यहाँ किन महँगोमा बिक्री हुन्छ ?

नेपालमा तोकिएको मूल्य भ्याट जोडेर लगाइएको हो । भारतीय बजारमा भ्याट लाग्दैन । त्यसैले उता सस्तो हुन्छ ।

अर्कोतर्फ, निर्यात गर्दा ८ प्रतिशत सहुलियत पाइन्छ । अरू कच्चा पदार्थमा लागेको ‘ड्युटी’ फिर्ता हुन्छ । आयकर नै कम लाग्छ । त्यसैले यताको मूल्य र उताको मूल्य तुलना गर्नै मिल्दैन ।

  • सिमेन्ट उद्योगका चुनौतीहरू के–के छन् ?

सरकारी कार्यालयहरूबाट चुनौती धेरै छन् । वनको समस्या छ, खानीको समस्या छ । समयमा काम हुँदैन । जग्गामुनि भएको वस्तु पनि वनले मेरो सम्पत्ति हो भन्छ । त्यो खानीको सम्पत्ति हो कि ? वनको सम्पत्ति हो ?

खानीमा आधारित उद्योगहरूलाई खानीले हेर्ने हो कि ! वनले हेर्ने हो कि, टुंगो हुनुपर्छ । वनले हामीलाई अत्यन्तै दुःख दिएको छ । वनले गर्दा खानी खोज्न सकिएको छैन ।

‘कस्ट’ बढेको छ । ‘कस्ट’ घटाइयो भने निकासीमा सहज हुन्छ । हामीसँग प्रशस्त चुनढुंगा छ । तर, यहाँबाट कसरी निकासी गर्ने भन्नेमा सरकारले ध्यान पुर्‍याइदिनुपर्‍यो ।

अब सरकारसँग कुनै अपेक्षा छैन । राज्यले सुन्छ, सुन्छ, तर गर्दैन । राज्यले गरिदिएको भए देश कहाँ पुगिसक्थ्यो ।

प्रकाशित मिति: १८ वैशाख २०८२, बिहीबार  १० : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।