काठमाडौँ । सरकारले पर्यटक आगमन बढाउँदै अर्थतन्त्र चलायमान बनाउन सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको थियो । तर, कारोना भाइरसको महामारीका कारण भ्रमण वर्ष विफल मात्र भएन, पर्यटन क्षेत्र नै डामाडोल भयो ।
सन् २०२० भित्र वार्षिक १५ लाख पर्यटक ल्याउने लक्ष्य लिएको सरकारले अझै सो क्षेत्र उकास्न सकेको छैन । जसको असर अहिलेसम्म पनि पर्यटन क्षेत्रमा परिरहेको छ ।
३ प्रश्नको आजको अंकमा हामीले पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष नीलहरि बाँस्तोलासँग पर्यटन क्षेत्रको अवस्था र सुधार गर्नुपर्ने विषयमा कुरा गरेका छौँ ।
-
अहिले पर्यटन क्षेत्रको अवस्था कस्तो छ ?
कोरोनाको समयमा भन्दा त अहिले पर्यटन क्षेत्र सुधारोन्मुख नै छ । पर्यटकीय गतिविधि चलायमान भएको छ ।
तर, अहिले नै पर्यटन क्षेत्र पूर्ण रूपमा चलायमान भएको छ भनेर भन्न सकिने अवस्था भने छैन । पूर्ण रुपमा नभए पनि अन्य क्षेत्र जस्तै यो क्षेत्र पनि बिस्तारै चलायमान हुँदै गएको छ ।
२०१९ वा २०१४ को जस्तै हुन त समय लाग्ला । तर, बिस्तारै चलायमान हुँदै गएको छ ।
नेपालको विकास, नेपालको आर्थिक उन्नतिका लागि पर्यटनभन्दा अन्य विकल्प छैन । तर, पनि राज्यले त्यसरी हेरेको छैन । पर्यटन व्यवसायबाट दूरदराजका मान्छे कतिले रोगजारी पाएका छन् भन्ने मूल्यांकन राज्यले गरेको छैन ।
पर्यटन क्षेत्र नेपालको अर्थतन्त्रको दीर्घकालीन स्रोत हो । डलर आम्दानीको दरिलो स्रोत पनि पर्यटन नै हो ।
पर्यटन क्षेत्रको विकास गर्ने हो भने अर्थतन्त्र सुधारका लागि योभन्दा राम्रो अर्को विकल्प केही छैन । हामी उद्योगधन्दामा प्रतिस्पर्धा गर्न सक्दैनौँ । नेपालको विकास गर्ने भनेकै पर्यटनले हो ।
-
पर्यटन क्षेत्रले भोगेका समस्याहरू के के हुन् ?
यसमा सरकार नीतिगत रूपमै चुकेको देखिएको छ । सरकारले पर्यटन क्षेत्रका लागि नीतिगत रूपमा थुप्रै सुधार गर्न आवश्यक छ ।
हिजो भर्खरै २०२८ सालको शिक्षा ऐन संशोधनको विषयमा आन्दोलन भयो । पर्यटनमा पनि २०३५ सालको ऐन छ । अहिले ऐन परिवर्तन गर्ने बेला आइसकेको छ ।
यस्ता नीतिगत कुराहरूमा सुधार ल्याउन आवश्यक छ । अहिले पनि २०३५ सालको कानुन बोकेर, त्यसैमा टेकेर, त्यसैलाई व्याख्या गरेर काम गर्नुपर्ने अवस्था छ । परमिटदेखि लिएर थुप्रै कुरामा सुधार गर्नुपर्ने आवश्यकता छ ।
-
बजेटमा पर्यटन क्षेत्रका लागि कस्ता कुराहरू समेटिनुपर्ला ?
राज्यले पहिला पनि बजेटमा धेरै कुरा समेटेको छैन । यसमा धेरै कुरा समेट्नुपर्ने देखिन्छ । जस्तो कि काठमाडौँ–पोखरा २०० किलोमिटरको बाटोमा १० घन्टाको यात्रा गर्नुपर्छ । यस्तै, बाटोकै कारण लुम्बिनी जान सक्ने अवस्था छैन ।
कमसेकम पर्यटकीय गन्तव्यहरूमा पूर्वाधार राम्रो बनाउने बजेट ल्याउनुपर्छ । ५० ठाउँमा छर्नुभन्दा जहाँ आवश्यक छ, त्यहाँ बजेटको व्यवस्था गरिनुपर्छ ।
प्रतिक्रिया