अप्रिलमा पर्यटक आगमनमा नयाँ रेकर्ड, एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए नेपाल


काठमाडौं । सन् २०२५ को अप्रिल महिनामा नेपालले हालसम्मकै उच्च विदेशी पर्यटक आगमनको रेकर्ड कायम गरेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार यो महिनामा मात्र एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । जुन हालसम्मकै अप्रिल महिनाको सबैभन्दा उच्च आँकडा हो ।

बोर्डको तथ्याङ्कअनुसार, सन् २०१९ को अप्रिलमा १ लाख ९ हजार ३९९ पर्यटक नेपाल आएका थिए । तर कोरोना महामारीपछि पुनःस्थापनाको क्रममा रहेको पर्यटन क्षेत्रमा यो अप्रिल महिनाको आगमन सन् २०१९ को तुलनामा १०६.५ प्रतिशतले वृद्धि भएको छ ।

यस वर्षको अप्रिलमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट २५ हजार ९३३ जना, अमेरिकाबाट १० हजार ५३, चीनबाट ९ हजार ३७ र बेलायतबाट ६ हजार ८३८ जना पर्यटक नेपाल भित्रिएका छन्। यद्यपि, भारतीय र चिनियाँ पर्यटकको संख्यामा अपेक्षित वृद्धिदर भने देखिएको छैन ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यो आँकडालाई नेपालको स्थायी आकर्षण र पर्यटन सभ्यताको प्रमाणका रूपमा व्याख्या गरेका छन् , “हामीले आधिकारिक रूपमा १०६।५ प्रतिशत पूर्व–महामारी स्तरमा पुगेका छौं, यसले बलियो रिकभरी र नेपालमा बढ्दो विश्वव्यापी चासो देखाउँछ,” बोर्डले जनाएको छ ।

सन् २०२५ को जनवरीदेखि अप्रिलसम्मको चार महिनाको अवधिमा कुल चार लाख १५ हजार ४८ जना विदेशी पर्यटक नेपाल आएका छन् । यसमा जनवरीमा ७९ हजार ९९१, फेब्रुअरीमा ९६ हजार ८८०, मार्चमा १ लाख २१ हजार ८ सय र अप्रिलमा १ लाख १६ हजार ४९० जना रहेका छन् ।

नेपालमा पर्यटन क्षेत्रको पुनरुत्थानको संकेतस्वरूप यो नयाँ कीर्तिमानले पर्यटन व्यवसायी तथा नीति निर्मातामा थप उत्साह भर्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति: २० वैशाख २०८२, शनिबार  १४ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।