किन परिरहेको छ पानी ? कहिले सुध्रिन्छ मौसम ?


काठमाडौँ । आइतबार देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आइतबार बिहान काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परेको थियो ।

विभागले कोसी, लुम्बिनीलगायत देशका पहाडी क्षेत्रका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का तथा मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो ।

यसका साथै हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना समेत छ । आज राति देशका पहाडी भेगमा आंशिक तथा साधारणतया बदली रहने छ । पहाडी क्षेत्रका केही ठाउँमा चट्याङ र हावाहुरीसहित पानी पर्ने र हिमाली क्षेत्रमा हल्का हिमपात हुनेछ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव परेकाले मौसममा बदली भएको विभागले जनाएको छ ।

प्रि–मनसुन सकिने बेला हुँदै जाँदा देशमा मनसुनी गतिविधि सुरु हुन थालेको विभागले जनाएको छ । यो वर्ष चाँडै मनसुन सुरु हुने भएकाले पानी परिरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

‘यो प्रि–मनसुन सकिने समय भएको र मनुसुन सुरु हुनुअघि मेघ गर्जन र चट्याङसहित पानी पर्ने गर्छ,’ उनले भनिन्, ‘त्यसकारण अब मनसुनी गतिविधि सुरु भएको रूपमा बुझ्नुपर्ने हुन्छ ।’ यसपालि मनसुन सरदरभन्दा छिटै भित्रिने सम्भावना रहेको र मनसुनी गतिविधि पनि राम्रो हुने देखिएको उनको भनाइ छ ।

प्रकाशित मिति: २१ वैशाख २०८२, आइतबार  १४ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।