गण्डकी प्रदेशका १५ पुस्तकालय स्तरउन्नतीका लागि ३७ लाख रुपैयाँ अनुदान


गण्डकी । गण्डकीका १५ सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्तरोन्नतिका लागी गण्डकी प्रदेश सरकारले अनुदान उपलब्ध गराएको छ । प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले चालु आर्थिक वर्षमा पुस्तकालय स्तरोन्नति अनुदान कार्यक्रमका लागि ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

मन्त्रालयका अधिकृत हीराबहादुर थापा मगरका अनुसार ७ पुस्तकालयले ३ लाख रुपैयाँ र आठ पुस्तकालयले २ लाख रुपैयाँका दरले अनुदान प्राप्त गरेका छन् । उक्त बजेट अनुसारको कार्यक्रम कार्यान्वयन भई अनुगमन र भुक्तानी प्रक्रिया सुरु गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले बर्सेनि प्रदेशभित्रका सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्तरोन्नतिका लागि अनुदान दिँदै आएको छ ।

प्रस्ताव माग गरी मापदण्ड पूरा गर्ने पुस्तकालय मात्र अनुदानका लागि छनोटमा पर्ने गरेका छन् । पुस्तकालय दर्ता, नियमित सञ्चालन, वार्षिक कार्ययोजना, संस्थागत सुशासनलगायतलाई आधार मानेर अनुदानका लागि छनोट गर्ने गरिएको छ । गत वर्ष ३० लाख रुपैयाँ बजेट वितरण गरिएकोमा यो वर्ष बढाएर ३७ लाख रुपैयाँ पुर्याइएको हो ।

पुस्तकालयले पुस्तक खरिद, फर्निचर, सूचना प्रविधिलगायतमा अनुदानको बजेट खर्च गर्नुपर्ने प्रावधान छ । पुस्तकालयलाई सामुदायिक अध्ययन केन्द्रका रुपमा विकास गर्दै भूगोल, इतिहास, कला, साहित्य, संस्कृति, पर्यटनलगायत विषयका पठन सामग्रीको व्यवस्थापनबाट गण्डकी प्रदेशको पहिचानलाई सुदृढ बनाउने उद्देश्य लिइएको छ ।

यो वर्ष अनदान प्राप्त गर्नेमा कास्कीको दीपशिखा, पोखरा सार्वजनिक पुस्तकालय, हिमालय पुस्तकालय, बागलुङको विद्यामन्दिर, स्याङ्जाको कालिका, लक्ष्मी स्मृति, अर्जुनचौपारी, जमजुङको लक्ष्मीनारायण, भोटेओडार, मुस्ताङको थाक, तनहुँको सिन्धु, गोरखाको त्रिभुवन, नवलपुरको शिवशक्ति, नवक्षितिज र फूलबारी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र रहेका छन् ।

प्रकाशित मिति: २५ बैशाख २०८२, बिहिबार  १३ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।