नेपाली उद्योगलाई विदेशमा लगानी गर्ने बाटो खुल्यो


अब नेपाली उद्योगहरूले विदेशमा लगानी गर्न पाउने भएका छन्। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नेपाली निर्यातकहरूलाई कुल निर्यातको २५ प्रतिशतसम्म रकम विदेशमा लगानी गर्न दिने व्यवस्था गरिएको घोषणा गरेका हुन्।

उनका अनुसार, नेपालबाट अर्धप्रशोधित वा कच्चा सामग्री निर्यात गरी विदेशमै प्रशोधन कारखाना स्थापना गर्न अनुमति दिइनेछ। यसका लागि कुल निर्यातको एक चौथाइसम्म रकम लगानी गर्न सकिनेछ।

अर्थमन्त्री पौडेलले विदेशमा लगानीबाट आर्जन हुने नाफाको कम्तीमा ५० प्रतिशत रकम नेपालमै फिर्ता ल्याउनुपर्ने व्यवस्था गरिने जानकारी पनि दिए। विदेशमा गरिने यस्तो लगानीलाई स्वीकृति दिने जिम्मा लगानी बोर्डलाई दिइनेछ।

सरकारको यो कदमले नेपाली उद्योगको अन्तर्राष्ट्रिय विस्तारमा टेवा पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: १५ जेठ २०८२, बिहीबार  १६ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।