माणिकरत्न शाक्यलाई ३ प्रश्न

‘सरकारले सुनलाई रक्सी–चुरोटको क्याटगोरीमा राख्यो’


काठमाडौँ । सरकारले सुनमा २ प्रतिशत विलासी कर लगाउने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेटमार्फत् सुनमा २ प्रतिशत विलासी कर लगाउने घोषणा गरेका हुन् । जसले गर्दा साउनदेखि सुनको भाउ स्वतः २ प्रतिशत बढ्ने भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा भाउ बढिरेहकाले मूल्यमा चाप परेका बेला लगाइएको करले माग झनै घट्ने देखिएको छ ।

३ प्रश्नको आजको अंकमा सुनमा लगाइएको करको विषयमा नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष माणिकरत्न शाक्यसँग कुरा गरेका छौँ ।

  • सुनमा विलासी कर लाग्दा यसले कस्तो असर पुर्‍याउँछ ?

सुनमा विलासी कर लगाउँदा नकारात्मक असर गर्छ । सरकारले पहिला १० लाख वा सोभन्दा बढीका सुन तथा गहना किन्दा मात्र विलासी कर लगाउने गरेको थियो । त्यतिबेलादेखि नै हामीले त्यसलाई हटाउनुपर्छ भनेका थियौँ ।

सुनचाँदी भनेको सम्पत्ति हो, विलासी वस्तु होइन । विलासी भनेको एक पटक प्रयोग गरेपछि त्यसको प्रयोग नै नहुने भए त्यो विलासी वस्तु हो । जस्तो रक्सी, चुरोट, पाँचतारे होटलको खाना जस्ता वस्तुहरू विलासी हुन् । यो एक पटक प्रयोग गरेपछि सकिन्छ ।

तर, सुनको गरगहना भनेको घर परिवारको सम्पत्ति हो । सुन बचत सुरक्षित गर्ने माध्यम हो । हाम्रो संस्कृति, रीतिरिवाज, परम्परा, पहिचान सुनमा जोडिएको छ ।

सरकारले यो कुरा नबुझी सुनमा विलासी कर लगाउँदा सुन रक्सी, चुरोट खाएजस्तो भयो ।

सुन महंगो त छ, तर महंगो सबै कुरा विलासी वस्तु हुँदैन । सुनको विषयमा सरकारले गलत व्याख्या गरेको छ ।

यसले व्यवसायमा नकारात्मक असर पुर्‍याउँछ । मानिसको क्रयशक्ति नबढेका कारण बिक्री नै घटिरहेको अवस्थामा विलासी कर लगाइदिँदा ग्राहक नै मारमा पर्छन् ।

हामीले त विलासी कर तिर्ने होइन, ग्राहकबाटै उठाउँछौँ । त्यसैले सरकारको हरेक करले जनतालाई नै असर पुर्‍याउँछ । सरकारले सुनलाई अनुत्पादन क्षेत्रमा गणना गरेको छ । त्यो सरकारको गलत नजर हो ।

तपाईँले १ लाखमा किनेको गहना १ वर्षपछि एक लाख १० हजार रुपैयाँ पुग्छ । १० हजार त फाइदा भयो । त्यो हिसाबले हेर्दा त्यो पनि सम्पत्ति नै बढेको त हो नि !

सम्पत्तिको मूल्य अभिवृद्धि हुने भनेको अप्रत्यक्ष उत्पादन हो । हिजो १ लाखमा किनेको सुन आज १ लाख १० हजार पुग्छ भने त्यसलाई कसरी विलासिताको वस्तु मान्ने ? यो विषयमा हामी आन्तरिक छलफलमा छौँ । सरकारको ध्यानाकर्षण गर्ने विषयमा पनि छलफल भइरहेको छ ।

  • आगामी वर्षका लागि आएको बजेटका सकारात्मक कुराहरू के–के हुन् ?

सरकारले यस पटकको बजेटमा केही सकारात्मक काम पनि गरेको छ । अब व्यवसायीहरूले पनि सुन आयात गर्न सक्ने भएका छन् । सरकारको यो निर्णय स्वागतयोग्य छ ।

सुनचाँदीका गहना विदेश निर्यात गर्ने कम्पनीहरूले आयात गर्न पाउने व्यवस्था आएसँगै अब बैंकहरूको मात्र एकाधिकार रहँदैन । अब व्यवसायीहरूले आफ्नो मागअनुसार सुन आयात गर्न पाउनेछन् ।

अहिलेको बजेटमा अर्थतन्त्रलाई चलायमान गर्ने खालका कुराहरू समेटिएका छन् । विलासी करबाहेकका विषयमा बजेटको स्वागत नै गरेका छौँ ।

  • विलासी करलगायत अन्य अन्तर्राष्ट्रिय प्रभावले सुनको मूल्यमा कत्तिको उतारचढाव होला ?

सुनको भाउ धेरै माथि जान्छ । अहिले पनि विश्व बजारमा तनाव नै छ । फाइनान्सियल सिस्टम कोल्याप्स हुने सम्भावना छ । अमेरिकी डलरको विश्वसनीयता घट्दै छ ।

सुनमा विभिन्न देशका रिर्जभ बैंकहरूले आफ्नो स्टक बढाउँदै लगेका छन् । सबैभन्दा धेरै किन्ने भनेको विभिन्न देशका रिजर्भ बैंकहरू नै हुन् । त्यसले गर्दा माग रोकिएको छैन ।

सुनलाई एकदमै सुरक्षित लगानीका रूपमा राखेर लगानीकर्ताले लगानी बढाएका छन् । त्यसले भाउ घट्ने सम्भावना छैन ।

यता, विलासी कर बढ्दा अन्तर्राष्ट्रिय बजारको तुलनामा २ प्रतिशत मूल्य स्वतः बढ्ने हुन्छ ।

प्रकाशित मिति: १९ जेठ २०८२, सोमबार  ११ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।