काठमाडौँ । नेपालका लागि डेनमार्कका गैरआवासिय राजदूत रासमस अविल्डगार्ड क्रिस्टेनले नेपालसँगको पुरानो मैत्री सम्बन्ध रहँदै आएको र आगामी दिनमा पनि यसलाई अझ जनस्तरमा विस्तार गरी लैजान आफू क्रियाशील रहने बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने क्रममा ३ दिने नेपाल भ्रमणमा आएका राजदूत क्रिस्टेनले रासससँगको सङ्क्षिप्त कुराकानीमा सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तनमा लगानी बढाउन डेनमार्क सरकार सकारात्मक रहेको उल्लेख गरे ।
नेपालमा पर्यटकीय पर्यटनको विशिष्ट सम्भावना रहेको बताउँदै नेपालको प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र यहाँको जीवनशैली निकै आकर्षक रहेकाले पर्यटनबाटै नेपालले आर्थिक विकासमा फड्को मार्न सक्छ भने । उनले पर्वतारोहण र पदयात्रामा ठूलो सङ्ख्यामा डेनमार्क नागरिक नेपाल भ्रमणमा आउने गरेको र आगामी दिनमा बढीभन्दा बढी डेनिस नागरिकलाई नेपाल भ्रमण गर्न प्रेरित गराउन आफ्नो प्रयास रहने बताए ।
जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्र तथा हिमतालमा परेको असरलाई डेनमार्क सरकारले निकै गम्भीर रुपमा लिएको र यस समस्याको समाधानमा नेपालसँग सहकार्य गर्न सकिनेछ भने । दुई देशका नागरिकबीचको सम्बन्धलाई अझ फराकिलो बनाउँदै लैजान सकिने अवसर रहेको उल्लेख गर्दै राजदूत क्रिस्टेनले खासगरी सूचना प्रविधि, विधि हस्तान्तरण र नवीकरणीय ऊर्जामा नेपालमा लगानीको उच्च सम्भावना रहेकाले निजी क्षेत्रसँगको सहकार्यमा डेनिस लगानीकर्ताहरुलाई आकर्षित गराउन सकिनेछ भने ।
नेपाल भ्रमणका क्रममा राजदूत क्रिस्टेनले परराष्ट्र मन्त्रालयका सचिवलगायत उच्च अधिकारीसँग पनि भेटवार्ता गरी दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाउन कूटनीतिक पहलका बारेमा छलफल गरेका थिए । साथै, उनले हिमालयन उद्धार सङ्घका पदाधिकारीहरुसँग भेट गरी हिमाल आरोहरणमा जाने पर्यटक तथा पथप्रदर्शकको सुरक्षामा पु¥याएको योगदानको प्रशंसा गरे । काठमाडौँस्थित डेनिस वाणिज्यदूतको कार्यालयको पनि निरीक्षण गरी आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउन गर्नुपर्ने कार्यहरुका बारेमा धारणा राखेका थिए ।
नेपालका लागि डेनमार्कका वाणिज्यदूत हरि धरेलले दुई देशबीचको मित्रता, समझदारी र सहयोगमा आधारित सम्बन्धलाई पर्यटनको माध्यमबाट अझ प्रगाढ बनाउनु र दुई देशका नागरिकस्तरको सम्बन्धलाई फराकिलो गराउनु आफ्नो प्राथमिकता रहेको बताए । नेपालले सन् २००७ मा कोपनहेगनमा आफ्नो आवासीय दूतावास खोलेको थियो भने नेपालमा रहँदै आएको डेनमार्कको राजदूतावास सन् २०१७ देखि बन्द भई नयाँदिल्लीबाट हेरिँदै आएको छ ।
प्रतिक्रिया