‘अझै मनसुन सक्रिय नहुँदा अपेक्षाकृत रोपाइँ हुन सकेन’


रुपन्देही । समयमा मनसुन सक्रिय नहुँदा लुम्बिनी प्रदेशमा रोपाइँ ढिलो सुरु भएको छ । सिञ्चित क्षेत्रमा धमाधम रोपाइँ जारी भए पनि आकाशे वर्षाको भरमा रहेका खेतमा भने किसानले अझै पनि धान रोप्न सकेका छैनन् ।

लुम्बिनी प्रदेशको १२ जिल्लामध्ये पूर्वी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियामा धानखेती राम्रो हुने जिल्लाको रुपमा मानिन्छन् । असार दोस्रो सातामा पनि यस क्षेत्रमा मनसुन सक्रिय हुन नसक्दा अपेक्षाकृत रोपाइँ हुन सकेको छैन् ।

लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयका सूचना अधिकारी विवेक पन्तका अनुसार प्रदेशमा कूल धान रोपाइँ हुने क्षेत्रफलको यही असार ६ गतेसम्म जम्मा १० प्रतिशत मात्र रोपाइँ भएको छ । प्रदेशका १२ जिल्लामा गरी कूल ६ लाख ८० हजार १५ हेक्टर खेतीयोग्य जग्गा रहेको छ ।
यसमध्ये ३ लाख २ हजार ९३९ हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । तर अहिलेसम्म २९ हजार २५० हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।

सबैभन्दा बढी प्यूठानमा ८२ प्रतिशत जग्गामा धान रोपाइँ भएको छ । यहाँ ६ हजार ५२५ हेक्टरमध्ये ५ हजार ३१८ हेक्टरमा धान रोपाइँ सकिएको छ । यस्तै, रोल्पामा ४ हजार ५४७ हेक्टरमध्ये १ हजार ८२० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४० प्रतिशत धान रोपाइ सकिएको छ । २० हजार ४०० हेक्टरमध्ये ८ हजार १९२ हेक्टरमा धान रोपाइँ सकिएको छ । रुकुमपूर्वमा ३५४ हेक्टरमध्ये १०६, पाल्पामा ८ हजार २१० मध्ये ४११ हेक्टरमा रोपाइँ सकिएको छ ।

यस्तै, रुपन्देहीमा ६० हजार ५६७ मध्ये ६ हजार ५८, कपिलवस्तुमा ६५ हजार ८७१ हेक्टरमध्ये ५२७ हेक्टर अर्थात १ प्रतिशत मात्र रोपाइँ भएको निर्देशनालयको तथ्याङ्कले देखाउछ । दाङमा ३७ हजार २२५ मध्ये १ हजार ४८९ हेक्टरमा रोपाइँ सकिएको छ । यसैगरी बाँकेमा गएको शुक्रबारसम्म रोपाइँ नै सुरु हुनसकेको छैन । बाँकेमा ३४ हजार ७११ हेक्टर जग्गामा धानखेती हुने गरेको छ । बर्दियामा ५० हजार १५० हेक्टरमध्ये ४ हजार २६३ हेक्टर, गुल्मीमा ७ हजार ५३९ मध्ये ३९१ र अर्घाखाँचीमा ६ हजार ७६० हेक्टरमध्ये ६७६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।

सबै भन्दा बढी धान रोपाइ हुने क्षेत्र रहेको कपिलवस्तु, दाङ र बाँके जस्ता जिल्लामा अझै पनि अधिकांश खेतहरु बाझै रहेका छन् । लुम्बिनी प्रदेशमा कुल खेतीयोग्य जमिन ५ लाख ३९ हजार ४४३ हेक्टर रहे पनि धान खेती ३ लाख ११ हजार हेक्टरमा हुने गरेको छ । सरदर ११ लाख ८५ हजार ४९३ मेट्रिक टन धान उत्पादन हुने लुम्बिनीमा २ लाख ७६ हजार ८१९ हेक्टर क्षेत्रफल मात्र सिञ्चित क्षेत्रफलको रुपमा रहेको छ ।

कूल ग्राहस्र्थ उत्पादनमा १४.८ प्रतिशत योगदान गरेको लुम्बिनी प्रदेशमा कृषि गणना २०६८ अनुसार ६ लाख ९२ हजार ९८२ कृषक परिवार संख्या रहेको छ । रोपाइँ ढिलो हुनुमा पानी नपर्नु मात्र एक कारण होइन । किसानले समयमा मल पाएनन्, ईन्धनको मूल्य बढ्दा पनि अधिकांश किसान समयमै खेत जोत्न सकेनन् । खेत जोत्न देखि लिएर पम्पिङ्ग सेटबाट तानेर खेतमा पानी लगाउन अत्यन्तै महँगो पर्ने भएको हुनाले समयमै खेत रोप्न नसकेको किसानको गुनासो छ ।

ओमसतिया गाउँपालिका–३ बस्ने गङ्गाराम चौधरीले गतवर्ष झै यसवर्ष पनि मल पाउन नसकेको बताए । “मल आउछ तर हामीले पाएका हुँदैनौँ, पहुँच हुनेहरुले लैजान्छन् होला । हामीलाई त भारतबाट ल्याउने मलकै भर हुन्छ ।” चौधरीले भने, “भारतीय मलको भर नै हुँदैन, तौल कम हुने, कमसल हुने लगायतका समस्या हुन्छ ।”

रोपाइँको समयमा डिएपी मलको आवश्यकता हुन्छ । अहिले पनि रासायनिक मलकै भरमा नेपालमा खेती हुने गरिएको पनि किसानले आवश्यक मलको लागि सहकारीमा हप्तौँदेखि पर्खिबस्नु पर्छ । नेपालको लागि वार्षिक औषतमा ११ लाख मेट्रिक टन मलको आवश्यता हुन्छ तर नेपालमा ३ देखि ५ लाख मेट्रिक टनसम्म मात्र मलको आपूर्ति हुदै आएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाले लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको स्याङजा तथा पूर्वी नवलपरासीमा मल पठाउने गरेको छ । अहिले कार्यालयमै मलको अभाव रहेको त्यहाका निमित्त कार्यालय प्रमुख सुमन पन्थी बताउछन् । केही ट्रक वीरगञ्जबाट आउनुपर्नेमा बुटवल–नारायणगढको बाटोको कारण आउन नसक्दा पनि समस्या भएको उनको भनाइ छ ।

कृषि सामाग्री कम्पनी भैरहवाको लागि चालु आर्थिक वर्षमा ५६ हजार ५६.४५ मेट्रिक टन यूरिया र ३९ हजार ९२३.४५ मेट्रिक टन डिएपी मल प्राप्त भएकोमा हाल सम्म ४७ हजार ८०७.७ मेट्रिक टन यूरिया र ३१ हजार १९९.४ मेट्रिक टन डिएपी मल वितरण भइसकेको छ । कम्पनीको गोदाममा १० गते सम्म लुम्बिनी प्रदेशको लागि १ हजार ९८३.२ मेट्रिक टन युरिया र २ हजार २४३.३ मेट्रिक टन डिएपी मौज्दात रहेको निमित्त कार्यालय प्रमुख पन्थीले जानकारी दिए ।

प्रकाशित मिति: १२ असार २०८२, बिहिबार  १३ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।