काठमाडौँ । यातायात व्यवसायीहरूले जारी आन्दोलन फिर्ता लिएका छन् । यातायात व्यवसायीहरुको आन्दोलन फिर्ता भएपछि आजदेखि सार्वजनिक यातायातका साधन चल्न थालेका छन् ।
गण्डकी प्रदेश सरकारले ल्याएको राइडसेयरिङ र सेल्फ ड्राइभ सम्बन्धी नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरुले आजदेखि सार्वजनिक गाडी चलाउन थालेका हुन् ।
मंगलबार मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘राइड सेयरिङ’ नियमावली स्थगन गर्न गण्डकी प्रदेश सरकारलाई निर्देशन दिएको थियो ।
त्यसलगत्तै प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका सचिव कमलकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै एक महिनाको लागि राइड सेयरिङसम्बन्धी सबै प्रावधान स्थगन गरिने जानकारी दिएका हुन् ।
नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले एक महिनाको सर्त राखेर आन्दोलन फिर्ता लिएको बताए । यातायात व्यवसायीहरुले राइडसेयरिङ र सेल्फ ड्राइभ सम्बन्धी नियमावलीको विरोधमा गण्डकी प्रदेशमा पाँच दिनदेखि र काठमाडौं उपत्यकासहितका अन्य जिल्लाहरुमा दुई दिनसम्म सार्वजनिक गाडी चलाएका थिएनन् ।
सरकारसँगको सहमती पछि आज बिहानैदेखि काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा सार्वजनिक बस, माइक्रो लगायतका कालो नम्बर प्लेटका सवारी साधन चलिरहेका छन् ।
प्रतिक्रिया