काठमाडौँ । सरकारले विपद् व्यवस्थापन कोषमा ४ अर्ब ६५ करोड २४ लाख रुपैयाँ मौज्दात रहेको जानकारी दिएको छ ।
गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धुप्रसाद बाँस्तोलाले विपद्का समयमा आपतकालीन अवस्थाका लागि प्रयोग गर्न सकिने गरी उक्त रकम मौज्दात रहेको जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ८९ करोड २९ लाख रुपैयाँ, केन्द्रीय विपद् व्यवस्थापन कोषमा १अर्ब २७ करोड ४७ लाख रुपैयाँ, प्रदेश विपद् व्यवस्थापन कोषमा ७९ करोड ४१ लाख रुपैयाँ मौज्दात रहेको छ ।
कोशीमा ६ करोड ९० लाख रुपैयाँ, मधेसमा ११ करोड ७८ लाख रुपैयाँ, बागमतीमा ७ करोड ५८ लाख रुपैयाँ, गण्डकीमा २५ करोड रुपैयाँ, लुम्बिनीमा ६ करोड ५० लाख रुपैयाँ, कर्णालीमा ९ करोड ५२ लाख रुपैयाँ र सुदुरपश्चिम प्रदेशमा ११ करोड ८९ लाख रुपैयाँ मौज्दात रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बाँस्तोलाले ७७ वटै जिल्लाका कोषमा ६९ करोड ५ लाख रुपैयाँ मौज्दात रहेको जानकारी दिए । प्राधिकरणले यसवर्षको मनसुन पूर्वतयारी तथा प्रतिकर्याका लागि आवश्यक तयारी तीव्र गरिएको र विभिन्न निकायलाई जिम्मेवारीसमेत तोकेको उनले बताए ।
उनले भने, “सबै क्लष्टरलाई आपतकालीन अस्वथाका लागि पूर्णतयारीसहित जिम्मेवारी तोकिसकिएको छ । विपद्का घटना भइहाले तत्काल परिचालन हुनेगरी सबै तयारीका काम सकिएको छ ।” कोषमा मौज्दात रहेको रकम आपतकालीन अवस्थामा आवश्यकता अनुसार तत्काल परिचालन हुने उनले बताए ।
प्रतिक्रिया