काठमाडौँ । वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने प्रलोभन देखाएर ३८ जना व्यक्तिबाट ११ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका-१० का ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका-१२ का ४७ वर्षीय अरुणराज शर्मा रहेका छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जेठ २५ गते नरेफाँटबाट पक्राउ गरेको हो । कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार, पराजुली र शर्माले पीडितहरूलाई बेलायतमा रोजगारीको पूर्ण सुनिश्चितता रहेको भन्दै विश्वासमा पारेर ठूलो रकम असुलेका थिए । उनीहरूविरुद्ध ३८ जना पीडितबाट कुल ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेको प्रमाणसहित उजुरी परेको थियो ।
पटक-पटक रकम बुझाउँदा पनि प्रक्रिया अघि नबढेपछि ठगिएको महसुस गरी पीडितहरू प्रहरीसमक्ष पुगेका थिए । पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा बुझाइएको प्रहरीले जनाएको छ । विभागले उनीहरूमाथि थप अनुसन्धान गरी वैदेशिक रोजगार ऐन, २०६४ अनुसार कारबाही प्रक्रिया अघि बढाउनेछ ।
प्रतिक्रिया