काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणका लागि कृषि कर्जाको ब्याजमा अनुदान उपलब्ध गराउने भएको छ ।
आइतबार प्रदेशसभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमा कृषि पशुपन्छी तथा मत्स्य क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणका लागि बैंक, वित्तीय संस्था र सहकारीमार्फत कृषि कर्जाको ब्याजमा अनुदान उपलब्ध गराउन १३ करोड ८५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उल्लेख छ ।
यसैगरी मसिनो धान, केराको टिस्युकल्चर बिरुवा, जैतुन तेल, दूध, रैथाने बालीको उत्पादन गरेबापत प्रतिफलमा आधारित अनुदान उपलब्ध गराउन दुई करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
शीत भण्डारण गृहमा बीउ आलु भण्डारण गर्ने किसानलाई भाडामा छुट दिन बजेट छुट्याइएको छ । २०० शीत भण्डारण गृह, मासु तथा डेरी उद्योगी व्यवसायीलाई विद्युत् महसुलमा अनुदानको व्यवस्था गरिएको छ । कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि दुई करोड ७० लाख रुपैयाँ र रासायनिक मलमा अनुदानका लागि एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
प्राकृतिक प्रकोपबाट कृषि पशुपन्छी तथा मत्स्य क्षेत्रमा हुने नोक्सानीको राहतको रु एक करोड र १०० मुक्तकमैया, कमलरी र हलियाको व्यवस्थापनका लागि तीन करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यसैगरी कृषि पशुपन्छी, मत्स्य केन्द्रित ‘एक स्थानीय तहः दुई उत्पादन अभियान’ सञ्चालनका लागि प्रत्येक स्थानीय तहमा कम्तीमा एक विशेष पकेट क्षेत्रको विकास गर्न ७० करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । दुग्ध विकास बोर्डमार्फत डेरी व्यवसाय प्रवर्द्धन तथा बजारीकरणका कार्यक्रम सञ्चालन गर्न दुई करोड ८५ लाख रुपैयाँ प्रदेश सरकारले विनियोजन गरेको छ ।
‘कृषकलाई टेवाः घरदैलोमा प्राविधिक सेवा’ कार्यक्रम सञ्चालन, कैलाली, बैतडी, बझाङ, डोटी र दार्चुला जिल्लामा कफीखेतीको बगैँचा स्थापना, उच्च हिमाली जिल्लाका स्थानीय तहलाई प्राङ्गारिक क्षेत्र बनाउन पहल गर्नेलगायतका कार्यक्रम सञ्चालन गर्न रु दुई करोड विनियोजन गरिएको छ ।
प्रतिक्रिया