यातायात कार्यालय पर्साका तत्कालिन अधिकृत गौतमविरुद्ध भष्टाचार मुद्दा दायर


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनमतिपत्र पर्साका तत्कालिन अधिकृत कमलराज गौतमविरुद्ध मुद्दा दायर गरेको छ । स्रोत नखुलेको कारोबार देखिएपछि अधिकृत गौतमविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

गौतमले २०५५ सालदेखि २०७९ सम्म पदमा रहँदा २ करोड ५१ लाख ७८ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दर्ता भएको आयाेगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जनाएका छन् ।

गौतमले आफ्नो र परिवारको नाममा वैधानिक आय स्रोतभन्दा बढी लगानी र खर्च गरेको पुष्टि भएको आयोगको ठहर छ । आयोगका अनुसार, गौतमकाे पदमा रहँदा वैधानिक आय २ करोड ८९ लाख २० हजार २३६ रुपैयाँ थियो भने खर्च तथा लगानी भने ५ करोड ४० लाख ९८ हजार ९५५ रुपैयाँ पुगेको देखिएको छ । सो अनुसार आयभन्दा खर्च २ करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ बढी भएको छ । सो रकमको स्रोत पुष्टि हुन नसकेको आयोगले जनाएको छ ।

स्रोत नखुलेको रकम बराबरको बिगो माग गर्दै अख्तियारले उनीविरूद्ध कानुनी कारबाही माग गरेको छ ।

प्रकाशित मिति: ३ असार २०८२, मंगलबार  १८ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।