चितवन । यहाँका २५ हजार ७३३ घरपरिवार बाढी पहिरोको जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार जिल्लाका सात पालिकामा रहेका १ लाख २८ हजार ६६५ जनसङ्ख्या वर्षातका कारण प्रभावित बन्ने देखिएको छ ।
बाढीका कारण सबैभन्दा बढी राप्ती नगरपालिकामा १० हजार १०९ घरका ५० हजार ९५० जना प्रभावित बन्ने तथ्याङ्कले देखाएको छ । यस्तै, भरतपुर महानगरपालिकामा ६ हजार ६३५ घरका ३३ हजार १७५, माडी नगरपालिकाका ३ हजार ९४६ घरका १९ हजार ७३० जना, रत्ननगर नगरपालिकाका २ हजार ३८१ घरका ११ हजार ९०५ जना प्रभावित बन्ने प्रारम्भिक तथ्याङ्कले देखाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै, कालिका नगरपालिकाका १ हजार ५ परिवारका ५ हजार २५ जना, खैरहनी नगरपालिकामा ३२० परिवारका १ हजार ६००, इच्छाकामना गाउँपालिकामा १ हजार २५६ परिवारका ६ हजार २८० जना प्रभावित हुने देखिएको प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जानकारी दिए ।
बाढीका कारण हुन सक्ने घटनालाई मध्यनजर गर्दै सुरक्षाका लागि सबै तयारी गरिएको उनले बताए । “नदी किनारामा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ । साथै, उद्धारका लागि सबै संरचना तयारी अवस्थामा राखिएको छ र आवश्यक खाद्यान्न, स्वास्थ्य सामाग्री, उद्धार सामाग्री तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई आग्रह गरिएको छ”, प्रमख जिल्ला अधिकारी पौडेलले भने ।










प्रतिक्रिया