जुम्ला । जुम्लाको विकासका लागि सङ्घीय सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा विनियोजन गरेको कूल बजेटमध्ये ६७.९१ प्रतिशत मात्र खर्च भएको छ ।
पुँजीगततर्फ ३ अर्ब ५ करोड ११ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएकामा २ अर्ब ८ करोड १९ लाख ८५ हजार खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका प्रमुख मीनबहादुर घर्तीमगरले जानकारी दिए।
यहाँका ८ वटा स्थानीय तहसहित जिल्लाका ३६ वटा सङ्घीय सरकारका मातहतका कार्यालयका लागि चालु र पुँजीगतका लागि जम्मा बजेट ८ अर्ब ६३ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । चालुतर्फ ५ अर्ब ५९ करोड ४९ लाख रुपैयाँ बजेटमध्ये ५ अर्ब २८ करोड ८१ लाख रुपैयाँ अर्थात् ९४.९६ प्रतिशत बजेट चालुतर्फको खर्च भएको छ ।
पुँजीगततर्फ ५ अर्ब ५ करोड ११ लाख २७ हजार रुपैयाँ विनियोजन बजेटमध्ये २ अर्ब ८ करोड १९ लाख ८५ हजार रुपैयाँ अर्थात् ६७.९१ प्रतिशत मात्र खर्च भएको छ ।
कूल बजेटको चालु र पुँजीगत गरी ७ अर्ब ३७ करोड १ लाख २५ हजार रुपैयाँ अर्थात् ८५.२३ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका प्रमुख घर्तीमगरले बताए। कूल बजेटको १ अर्ब २७ करोड ५९ लाख १७ हजार रुपैयाँ विकास बजेट खर्च नभएर फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाले जनाएको छ ।
सङ्घीय सरकारले जिल्लाको विकासका लागि विनियोजन गरेको बजेटमध्ये सबैभन्दा बढी सघन सहरी तथा भवन आयोजना जुम्लाको बजेट धेरै फ्रिज भएको छ । उक्त कार्यालयलाई विनियोजित पुँजीगत बजेटतर्फ १ अर्ब ६३ करोड ७२ लाख ६४ हजारमध्ये ९० करोड ३८ लाख ७ हजार रुपैयाँ अर्थात् ५४.६४ प्रतिशत मात्र खर्च भएको छ ।
उक्त कार्यालयको पुँजीगततर्फ जुन बजेट खर्च हुन नसक्दा ७५ करोड २ लाख ६९ हजार रुपैयाँ बजेट खर्च फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाले जनाएको छ । सडक डिभिजन कार्यालयका लागि पुँजीगततर्फ ७१ करोड ५५ लाख रुपैयाँ बजेटमध्ये ५६ करोड ३२ लाख १२ हजार रुपैयाँ अर्थात् ७८.७२ प्रतिशत बजेट खर्च भएको छ । १५ करोड ४२ लाख ६३ हजार रुपैयाँ बजेट पुँजीगत तर्फको खर्च नभएर फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाले जनाएको छ ।










प्रतिक्रिया