काठमाडौँ । कोभिड १९ महामारीले सुस्ताएको नेपालको पर्यटन क्षेत्रले पहिलो पटक उत्साहजनक गति लिएको छ । सन् २०२५ को जुलाई महिनामा ७० हजार १९३ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । जुन कारोना महामारीपछिकै उच्च मासिक आगमन हो ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार यो संख्या गत वर्षको जुलाईको तुलनामा ८.७ प्रतिशतले बढी हो । सन् २०२४ को जुलाईमा ६४ हजार ५९८ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
यो वर्षको जुलाई महिनाको आगमन कोरोना महामारीपूर्व सन् २०१९ को जुलाई महिनाको तुलनामा ९९ प्रतिशतले पुनरुत्थान हो । सन् २०१९ को जुलाईमा ७० हजार ९१६ जना पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ को तुलनामा २०२५ को जुलाईमा पर्यटक आगमन संख्या ७२३ ले मात्र कम छ । जसले पर्यटन क्षेत्र पुरानै लयमा फर्कन लागेको संकेत गरेको छ ।
कारोना महामारी कायमै रहेको सन् २०२० को जुलाई महिनामा १९६ जना मात्र विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०१९ को अन्त्यदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन पछिल्लो समय कारोना अघिकै अवस्थामा फर्किन लागेको हो ।
बोर्डका अनुसार सन् २०२१ मा ३ हजार ९३ जना, सन् २०२२ मा ४४ हजार ४६२, सन् २०२३ मा ५७ हजार ७२६ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
सबैभन्दा बढी पर्यटक भारतबाट
बोर्डको तथ्यांकअनुसार यो वर्षको जुलाई महिनामा सबैभन्दा बढी भारतबाट २७ हजार १५२ जना पर्यटक नेपाल भित्रिएका छन् । भारतपछि चीनबाट ६ हजार ८९० जना, अमेरिकाबाट ६ हजार ६२६ जना, बंगलादेशबाट ४ हजार ४१३ जना, बेलायतबाट ३ हजार ५४७ जना, अष्ट्रेलियाबाट १ हजार ६६५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस्तै दक्षिण कोरियाबाट १ हजार २३१ जना, जापानबाट १ हजार २१४ जना, मलेसियाबाट १ हजार २०५ जना, र भुटानबाट १ हजार १६७ जना पर्यटकले नेपाल भ्रमण गरेको बोर्डको तथ्यांकमा उल्लेख छ ।
क्षेत्रीय हिसाबले हेर्दा, दक्षिण एसियाली मुलुकहरुबाट सबैभन्दा बढी पर्यटक आएका छन् । नेपाल भ्रमण गर्ने कुल पर्यटकहरुमा करिब ४७ प्रतिशत दक्षिण एसियाली मुलुकका मानिसहरु रहेका छन् ।










प्रतिक्रिया