काठमाडौँ । वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल २ हजार ८५३ वटा विपद्का घटना घटेका छन् । ती घटनामा परेर १ सय २६ जनाको निधन भएको छ । यस्तै ५ सय ८५ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर २३ जना बेपत्ता हुँदा ५ हजार ४१ परिवार प्रभावित भएका छन् । देशभर बाढीका २ सय १६, पहिरोका ३ सय १७, भारी वर्षाका २ सय २१, चट्याङका २ सय ४५, सर्पदंशका ७७ घटना घटेका छन् ।
त्यसैगरी, आगलागीका १ हजार ११४, डढेलोका १ सय ५८, हुरीबतासका २ सय ७७, जनावर आक्रमणका १ सय ७२, लेक लागेको ४६, भूकम्पका ५, डुङ्गा पल्टेर २, असिना हुरी र अन्यका १–१ वटा विपद्का घटना घटेका छन् ।
प्राधिकरणका अनुसार साउन ३१ गते मात्र आगलागीका ७, बाढी १, पहिरोका ८, अविरल वर्षा ४, जनावर आक्रमणका ३ घटना घटेका छन् । विपद्मा परेर १ जनाको ज्यान गएको छ । अनुमानित क्षति ३८ लाख ४० हजार रुपैयाँ बराबर भएको छ । विपद्बाट प्रभावितको खोज, उद्धार र राहतका लागि १ सय ४० प्रहरी परिचालन गरिएको छ । रासस










प्रतिक्रिया