वीरगञ्ज । वीरगञ्ज महानगर क्षेत्रमा समुदायस्तरमा नै हैजाको सङ्क्रमण फैलिए पनि अहिलेसम्म हैजाको स्रोत भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । गत शुक्रबारदेखि वीरगञ्जका विभिन्न वडामा हैजाका सङ्क्रमित बिरामी भेटिँदै आइरहेका छन् ।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ७९ जना हैजाका सङ्क्रमित बिरामी फेला पारेको जानकारी दिए । “आइतबार बेलुका ८ बजेसम्म हैजाका सङ्क्रमित ७१ जना भेटिएका थिए”, उनले भने, “सोमबार बिहानसम्म थप ८ जना हैजाका सङ्क्रमित भेट्टिएका छन् ।”
“हैजाको मुख्य स्रोत अहिलेसम्म पत्ता लागेको छैन”, उनले भने, “विश्व स्वास्थ्य सङ्गठनलगायतका प्रतिनिधिले आइतबारदेखि यहाँका पानीको परीक्षणलगायतका गरिरहएको छ । सम्भवत् आजसम्म हैजाको स्रोतको पहिचान हुने आशा राखेका छौँ ।”
नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा उदयनारायण सिंहले आइतबारसम्म अस्पतालमा ३० जना बिरामी भर्ना भएको जानकारी दिए । “नारायणी अस्पतालमा हैजाको उपचारको लागि श्यया र जनशक्ति दुवैको अभाव देखिएको छ”, उनले भने, “अहिलेसम्म कुनै पनि निकायबाट आवश्यक पर्ने सहयोग आइपुगिसकेको छैन । अहिलेसम्म कागजी प्रक्रियामा सहयोग गर्ने भने तापनि वास्तविक रूपमा आवश्यक पर्ने जनशक्ति र अन्य उपचारका सामग्री आइपुगिसकेको छैन ।”
प्रवक्ता सिंहले हैजाको महामारीको साथसाथै अन्य विभिन्न किसिमका बिरामीको चाप पनि थेग्नै नसकिने प्रकृतिको रहेको गुनासो गरे । “हामीले यो महामारीबाहेक अन्य खालका विभिन्न महामारीसँग पनि लडिरहेका छौँ । सर्पदंशको बिगबिगी छ । ज्वरो, प्यारालाइसिसलगायत बिरामीको चाप भए पनि जनशक्ति पर्याप्त नहुँदा भने व्यवस्थापन गर्न मुस्किल भइरहेको छ”, उनले भने, “भएका जनशक्तिले अत्यधिक काम गर्न परिरहेको छ । तर अस्पतालमा अहिले आन्तरिक र बाह्य दुवै खालको सहयोग छैन ।”
प्रवक्ता सिंहले वीरगञ्जमा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि आएर पानीको परीक्षणलगायतका आवश्यक काम गरिरहेकाले पनि सम्भवत् आजै हैजाको स्रोतको प्रारम्भिक रिपोर्ट आउन सक्ने जानकारी दिए । नारायणी अस्पतालमा जाँच गर्दा २६ जना बिरामीमा कलेरा सङ्क्रमित देखिएका छन् । त्यस्तै तराई अस्पतालमा २५ जना, नेशनल मेडिकल कलेजमा ९ जना, भवानी अस्पतालमा ३ जना कलेरा सङ्क्रमित बिरामी भेट्टिएका हुन् ।
त्यस्तैगरी वीरगञ्ज हेल्थ केयर, अली अर्थो अस्तताल, मङ्गलम प्याथोलोजीमा २÷२ जनाको दरले ८ जना हैजा कोलेरा सङ्क्रमित बिरामी भेट्टिएका छन् । थप ८ जना बिरामी सोमबार विहानीको समयमा थपिएको सोको विवरण कुन अस्पतालमा परीक्षण गरिएको खुल्न सकेको छैन ।










प्रतिक्रिया