काँकरभिट्टा नाका : आयात बढ्दा र निर्यात घट्यो


झापा । चालु आर्थिक वर्ष २०८२/ ८३ को पहिलो २ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट ८ अर्ब १९ करोड १ लाख रुपैयाँ मूल्य बराबरका मालवस्तु आयात भएका छन् ।
जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा ६८ करोड ८ लाख अर्थात् ९ प्रतिशतले बढेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंले जानकारी दिए। उनका अनुसार गत आवमा ७ अर्ब ५० करोड ९२ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो ।
चालु आर्थिक वर्षको साउन  र भदौ महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । चालु आवको २ महिनामा ३ अर्ब ६ करोड ३७ लाख रुपैयाँ बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही अवधिमा ३ अर्ब ८६ करोड २८ लाख रुपैयाँको वस्तु तथा सामान निर्यात भएको थियो । उक्त निर्यात २०.६९ प्रतिशतले घटेको सूचना अधिकारी हुमागाई बताए।
पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुहरुमा अलैँची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट, मोलासिसलगायत रहेका छन्भने आयात हुने मुख्य मालवस्तुहरुमा पेट्रोलियम पदार्थ, जुट, दलहन, पशु आहाराको कच्चापदार्थ, तरकारी, फलफूल, खनिज उत्पादन, तयारी कपडालगायत रहेका छन् ।
कार्यालयका अनुसार चालु आव २०८२र८३ को पहिलो २ महिनामा आयात निर्यातबाट २ अर्ब ६२ करोड ९५ लाख १८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । जुन गत आव २०८१/८२ को सोही अवधिको तुलनामा ८.६२ प्रतिशत अर्थात् २० करोड ८६ लाख ९ हजार रुपैयाँले बढी हो ।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार  १३ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।