राष्ट्र बैंकले किन्यो ३३ अर्बको सुन, सुन प्रमाणपत्रमा मात्रै ८७ अर्ब ३१ करोड ४२ लाख रुपैयाँको लगानी


काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनमा लगानी बढाएको छ । चालु आर्थिक वर्ष (आव) २०८२/८३ सुरु भएसँगै राष्ट्र बैंकले हालसम्म थप ३३ अर्ब ५० करोड ४२ लाख रुपैयाँबराबरको सुन किनेको छ । यो सुन प्रमाणपत्रमा गरेको लगानी हो ।

यस अवधिसम्म सुन प्रमाणपत्रको मात्रै लगानी एक खर्ब ५२ अर्ब ९७ करोड रुपैयाँभन्दा बढी छ । यो तथ्यांक गत असार मसान्तसम्म (लेखापरीक्षण गरिएको) को लगानी एक खर्ब १८ अर्ब १९ करोड ३५ लाख रुपैयाँको तुलनामा ३३ अर्ब ५० करोड ४२ लाख रुपैयाँले बढी हो ।

गत असारको तुलनामा चार महिनामा राष्ट्र बैंकले थप २८ प्रतिशत सुन खरिद गरी ढुकुटीमा थपेको छ । त्यस्तै, गत आव २०८१/८२को तुलनामा ७५.२० प्रतिशतले बढी हो । गत आवको कात्तिकसम्ममा राष्ट्र बैंकले सुन प्रमाणपत्रमा मात्रै करिब ८७ अर्ब ३१ करोड ४२ लाख रुपैयाँ लगानी गरेको थियो ।

यसअनुरूप एक वर्षको अन्तरमा थप ६५ अर्ब ६५ करोड ५९ लाख रुपैयाँबराबरको सुन किनेको राष्ट्र बैंकले बताएको छ ।

सुनका गहना (भौतिक सुन) किनेर सन्दुकमा राख्नुभन्दा सुनको सेयर बजारमा लगानी ९सुन प्रमाणपत्र० बढाएको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार  १२ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।