व्यवसायीलाई व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न निर्देशन


काठमाडौँ । आन्तरिक राजस्व विभागले सुन, चाँदीलगायत बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीहरूलाई व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न निर्देशन दिएको छ।

सुनचाँदीलगायत बहुमूल्य धातु वा वस्तुको कारोबार व्यवसायिक संस्थाको नाममा रहेको बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट मात्र गर्नुपर्ने व्यवस्था गरेको हो।

‘सूचक संस्थाले व्यक्तिगत खाता वा आफ्ना कर्मचारी, परिवारका सदस्य वा अन्य कुनै व्यक्तिको बैंक तथा वित्तीय संस्थामा रहेको खाता प्रयोग गर्न पाइँदैन,’ निर्देशनमा भनिएको छ, ‘सूचक संस्थाले एक पटकमा १० लाख रुपैयाँ वा सोभन्दा बढी रकमको बहुमूल्य धातु वा वस्तु बिक्री गर्दा ग्राहक वा निजको परिवारको बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट रकम भुक्तानी लिनुपर्नेछ।’

यदि विद्युतीय माध्यममार्फत हुने भुक्तानीमा कुनै सीमा रहेको भएमा बहुमूल्य धातु वा वस्तुको खरिद–बिक्री गर्ने सूचक संस्थाको सन्दर्भ उल्लेख गरी त्यसमा थप हुने व्यवस्था गर्न विभागले नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेको छ।

निर्देशन पालना नगरेको भेटिएमा कानुनअनुसार कारबाही हुने र एक करोड रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था निर्देशनमा छ।

प्रकाशित मिति: २२ मंसिर २०८२, सोमबार  १२ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।