नर्सिङ, ओभरसियर, पुजारीसहित ३८८ जनाका लागि नेपाली सेनामा भर्ना खुल्यो


काठमाडौँ। नेपाली सेनाले विभिन्न प्राविधिक समूहका ३८८ जना कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। सेनाले शुक्रबार एक सूचना जारी गर्दै नर्सिङ, ओभरसियर, भेहिकल मेकानिक्स, भिडिओग्राफर, पुजारी लगायत विभिन्न स्वास्थ्य, इन्जिनियरिङ, प्राविधिक तथा हवाई समूहका पदहरूमा भर्ना खुलाएको हो।

दरखास्त बुझाउने समयावधि मङ्सिर २६ गतेदेखि पुस २६ गतेसम्म तोकिएको छ । यदि कोही ढिलो भएमा दोब्बर दस्तुर बुझाएर पुस २७ गतेदेखि माघ ३ गतेसम्म (थप ७ दिन) कार्यालय समयभित्र दरखास्त पेस गर्न सकिनेछ । यदि एकल वा दोब्बर दस्तुर बुझाउने अन्तिम मितिको दिन सार्वजनिक बिदा परेमा सो भन्दा पछाडिको कार्यालय खुल्ने दिनमा कार्यालय समयभित्र राजस्व बुझाई दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।

दरखास्त दस्तुर पदअनुसार ४००, ३०० र २०० रुपैयाँ तोकिएको छ । दरखास्त दस्तुर भने नेपाल बैंक लिमिटेडको खाता नम्बर ००१०१००००००००१००१००१ (कार्यालय कोड ३४५०१३५१३ र राजश्व शीर्षक नं. १४२२४, परीक्षा शुल्क) मा जम्मा गरी त्यसको सक्कलै भौचर तथा एक प्रतिलिपि अनलाइन फारामसँगै पेस गर्नुपर्नेछ । एउटै विज्ञापनमा एकभन्दा बढी समूहमा दरखास्त दिइएमा प्रत्येक समूहका लागि २० प्रतिशतका दरले थप दस्तुर लाग्नेछ ।

प्रकाशित मिति: २६ मंसिर २०८२, शुक्रबार  १२ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।