काठमाडौं । निर्वाचन प्रचारप्रसारमा हुने खर्च, सहयोग तथा चन्दा संकलनलाई प्रभावकारी बनाउन निर्वाचन आयोगले उम्मेदवारहरुको आर्थिक कारोबारमा मापदण्ड तोकेको छ । आयोगले आ–आफ्नो नीजि खातामा आर्थिक सहयोग तथा चन्दा उठाउँदै आएका उम्मेदवाहरूलाई निर्वाचन आयोगको अनुमती प्राप्त खाताबाट मात्रै आर्थिक कारोबार गर्न पाउने व्यवस्था गरेको हो ।
निर्वाचन आयोगले राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई निर्वाचन प्रयोजनको खाताबाट मात्र आर्थिक सहयोग तथा चन्दा संकलन गर्न पाउने व्यवस्था गपरएको जनाएको छ ।
निर्वाचन प्रयोजनका लागि खाता सम्बन्धी कार्यविधि बनाएर आयोगले यस्तो व्यवस्था गरेको हो । अन्य समयमा सञ्चालनमा रहेका बैंक खाताको विबरण देखाएर सहयोग माग्ने गरेको देखेर तोकिएको खातामा मात्र सहयोग र चन्दा लिने व्यवस्था गरिएको आयोगले जनाएको छ । अब तोकिएको खाताबाहेक अन्य खाताबाट कयस्तो कारोबार गर्न नपाइने पनि आयोगले प्रष्ट पारेको छ । आयोगको सहजीकरणमा खोलिने खाताको निर्वाचन अनुगमन अधिकृतहरूको प्रत्यक्ष निगरानी गर्ने पनि आयोगले जनाएको छ ।
राजनीतिक दलका उम्मेद्वार वा तोकिएका खाता सञ्चालकले खाता चलाउन पाउने अस्थायी प्रकृतिका खातामा आफ्नो नीजि खातामा जसरी कारोबार गर्न नपाइने आयोगले जनाएको छ । खाता सञ्चालनमा निर्वाचन कानून वा आचारसंहिता उल्लंघन गरेको भेटिए अनुगमन अधिकृतहरूले कारोबार रोक्का गरिदिन सक्ने पनि आयोगले जनाएको छ ।
निर्वाचन अभियान बैंक खाता कार्यविधि, २०८२ मा यसअघि खोलिएका खातालाई समेत नयाँ प्रक्रियाबाट नियमन गर्ने व्यवस्था छ । त्यसका लागि उम्मेदवारहरूले नया खाता खोलेर पहिलेको खातामा आएको चन्दा पनि सोही खातामा सार्नुपर्ने आयोगले व्यवस्था गरेको छ ।
आयोगको सिफारिसमा विभिन्न बैंकहरूमा खोलिने खातामा आर्थिक सहयोग तथा चन्दा संकलनमा रोक नलगाइएको पनि आयोगले जनाएको छ ।
आयोगले देशभर जिल्लाहरूको अवस्था अनुसार प्रतिउम्मेदवार २५ देखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ । उम्मेदवार तथा राजनीतिक दलहरूले खातामा आर्थिक संकलन र कारोबार गर्दा तोकिएको सीमा नाघ्न पाउने छैनन् । निर्वाचन सकिएको ३५ दिनपछि उम्मेदवार र दलहरूले खोलेका त्यस्ता खाता बन्द गर्ने व्यवस्था आयोगले गरेको छ । बैंकहरूले खाताको विवरण भने छ वर्षसम्म सुरक्षित राख्नुपर्ने आयोगको भनाई छ ।












प्रतिक्रिया