वीरगञ्जको भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारी आयातमा निर्भर


वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयको राजस्वको हिस्सा पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ । कार्यालयले चालु आर्थिक वर्षको प्रथम छ महिनामा १ खर्ब १६ अर्ब ५८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । तर, यहाँको राजस्व सङ्कलनको हिस्सा भने पेट्रोलियम पदार्थको आयातबाट मात्रै छ महिनामा ३७ अर्ब ८५ करोड रुपैयाँ सङ्कलन भएको छ ।

दोस्रो धेरै राजस्व सङ्कलन यातायातका साधन र तिनका पार्टपुर्जा आयाबाट भने १३ अर्ब ९८ रुपैयाँ राजस्व सङ्कलन भएको छ । कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थको आयात र यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट प्राप्त हुनेमा निर्भर रहेको बताए।

चालु आवको ६ महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट ६ अर्ब ८३ करोड रुपैयाँ, कपडा आयातबाट ५ अर्ब २६ करोड रुपैयाँ, इलेक्ट्रिक मेसिनरी,उपकरण र तिनका पार्टपुर्जाबाट रू चार अर्ब ९१ करोड राजस्व सङ्कलन भएको छ ।

त्यस्तै मदिराजन्य पेयपदार्थको आयातबाट भने १ अर्ब ८३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । शृङ्गारको सामानबाट १ अर्ब ८१ करोड रुपैयाँ राजस्व उठेको छ ।

प्रकाशित मिति: २६ माघ २०८२, सोमबार  १० : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।