काठमाडौँ । चलचित्र ‘आबाट आमा’ ले दुई सातामै आठ करोड ३१ लाख रुपैयाँ कमाएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस कलेक्सनले फागुन २ गते मध्यरातसम्मको विवरण सार्वजनिक गरेको हो ।
चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपा बक्स अफिसले चलचित्र आबाट आमा, कुमारी र रमिताको पिरतीको बक्स अफिस कलेक्सन विबरण सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार गत माघ १६ गतेदेखि प्रदर्शनमा आएको आबाट आमा चलचित्रले हालसम्ममा ८ करोड ३१ लाख ८७ हजार रुपैयाँ कलेक्सन गरेको हो । यो अवधिमा चलचित्रको ३ लाख १० हजार ३२३ वटा टिकट बिक्री भएका छन् । चन्द्र पन्तद्वारा निर्देशित सामाजिक कथामा निर्माण भएको चलचित्रले आमा र परिवारको कथा समेटेको छ ।
चलचित्रमा प्रेमकथा पनि समावेश गरिएको छ । सो चलचित्रमा विपना थापा, पल शाह, भारतीय अभिनेता प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपाली लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
त्यसैगरी, कमाइको हिसाबले दोस्रो स्थानमा चलचित्र ‘कुमारी’ रहेको छ । माघ २३ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले एक सातामा १७ हजार २५ वटा टिकटबाट ५६ लाख २११ रुपैयाँ कलेक्सन गरेको छ । प्रेम कथामा आधारित चलचित्रलाई निर्देशनमा अब्बल मानिने निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रमा प्रेम, मानवीय संघर्ष र पारिवारिक अन्तद्र्वन्द्वको कथालाई कलात्मक ढंगले चित्रण गरिएको छ ।
त्यसैगरी, तेस्रो स्थानमा रहेको रमिताको पिरतीले ५ हजार ९३७ टिकटबाट १९ लाख ४३ हजार ५८८ रुपैयाँ आम्दानी गरेको छ । सुदिप्ताको निर्देशनमा बनेको चलचित्र ‘रमिताको पिरती’ पनि माघ २३ गतेबाट प्रदर्शनमा आएको थियो । प्रेम सम्बन्धमा आधारित चलचित्रमा युवतिको ‘ब्रेकअप’ पछिको दृष्टिकोणबाट चलचित्र प्रस्तुत गर्न खोजिएको छ ।












प्रतिक्रिया