काठमाडौं । टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा प्राविधिक समस्या उत्पन्न भएपछि बंगलादेशको ढाका डाइभर्ट गरिएको छ ।
बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको उडान नम्बर टीके ७२६ (ए३३० सिरिजको वाइड बडी) जहाजले प्राविधिक समस्याका कारण ओभरसुट गरेको थियो । विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार जहाजको अवतरण तालिका बिहान ११ः१० बजेका लागि तय भए पनि जहाज १०ः५६ बजे नै विमानस्थल नजिक आइपुगेको थियो ।
यसअघि गत माघ २१ गते पनि टर्किस एयरलाइन्सकै जहाजमा उड्नेबित्तिकै इन्जिनमा आगलागी भएको थियो । सो समयमा जहाजलाई १५ मिनेट होल्ड गरेर भारतको कोलकाता डाइभर्ट गरिएको थियो ।
यसैबीच, थाइल्यान्डको बैंककबाट आएको थाई एयरवेजको जहाज पनि बुधबार काठमाडौंको मौसम (बढी हावा चलेका कारण) अवतरण गर्न नसकी केही बेर आकाशमा ‘होल्ड’ गरिएको थियो । यद्यपि, थाई एयरवेजको जहाज भने अहिले सुरक्षित रूपमा काठमाडौंमा अवतरण गरिसकेको छ ।
पछिल्लो समय टर्किस एयरलाइन्सको जहाजमा पटक–पटक प्राविधिक समस्या देखिँदा उडान सुरक्षामा चासो बढेको छ ।












प्रतिक्रिया