तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ५८ अर्ब नाघ्यो


काठमाडौँ । तिर्न बाँकी सरकारी ऋण साढे २८ खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत माघ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेकामा माघ मसान्तसम्ममा १ खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व २८ खर्ब ५८ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४६.८१ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

हालसम्म तिर्न बाँकी ऋणमध्ये आन्तरिक ऋण दायित्व १३ खर्ब ४९ अर्ब १३ करोड रुपैयाँ र बाह्य ऋण दायित्व १५ खर्ब ९ अर्ब ८४ करोड रहेको छ । कुल सार्वजनिक ऋणमा माघ मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५२.८१ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७.१९ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षमा सरकारले ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा माघ मसान्तसम्ममा २ खर्ब ५५ अर्ब ४८ करोड रुपैयाँ प्राप्ति भएको छ । वार्षिक लक्ष्यको तुलनामा हालसम्मको कुल सार्वजनिक ऋण प्राप्ति ४२.८९ प्रतिशत हो ।

यस वर्ष आन्तरिकतर्फ ३ खर्ब ६२ अर्ब रुपैयाँ ऋण उठाउने सरकारी लक्ष्य रहेकामा ६०.१३ प्रतिशत अर्थात् २ खर्ब १७ अर्ब ६६ करोड रुपैयाँ उठिसकेको छ भने १ खर्ब ४४ अर्ब ३३ करोड रुपैयाँ प्राप्ति हुन बाँकी छ ।

त्यस्तै, बाह्य ऋणतर्फ २ खर्ब ३३ अर्ब ६६ करोड उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको १६.१८ प्रतिशत अर्थात् ३७ अर्ब ८१ करोड प्राप्त भइसकेको छ भने १ खर्ब ९५ अर्ब ८४ करोड रुपैयाँ प्राप्त हुन बाँकी रहेको छ ।

त्यस्तै, सरकारी ऋणको साँवा ब्याज तिर्नका लागि सरकारले यस वर्ष ४ खर्ब ११ अर्ब १ करोड विनियोजन गरेकामा माघ मसान्तसम्ममा २ खर्ब ३ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी भइसकेको छ । यो वार्षिक बजेट विनियोजनको आधारमा ४९.५५ प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादनका आधारमा माघ मसान्तसम्ममा कुल ऋण सेवा खर्च ३.३३ प्रतिशत रहेको छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार  १६ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।