शिखर पावर डेभलपमेन्टको आईपीओ खुल्यो


काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओमा आजदेखि आवेदन दिन सकिने छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो । उक्त आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

जसअनुसार, कम्पनीले कर्मचारीहरुका लागि ४४ हजार ४०० कित्ता छुट्याई बाँकी रहेको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १८ करोड ४२ लाख ६० हजार रुपैयाँबराबरको १८ लाख ४२ हजार ६०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा फागुन २२ गते हुनेछ भने उक्त अवधिमा सम्पूर्ण कित्ता बिकी नभएमा भने निष्काशन अवधि चैत १ गतेसम्म लम्बिने छ ।

सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीको बारेमा

कम्पनीले सञ्चालन गरेको ४।९६ मेगावाटको भिमखोला साना जलविद्युत आयोजना निमार्ण गरिरहेको छ । जसको कुल लागत १ अर्ब १९ करोड ९४ लाख ३५ हजार ८३९ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिमेगावाट लागत २४ करोड १८ लाख २१ हजार ७४१ रुपैयाँ ७० पैसा रहेको छ ।

सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २९।०८ वर्ष बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८।९२ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३।६४ वर्ष रहेको छ। सो आयोजनाबाट २०८१ फागुन २५ देखि व्यवसायिक उत्पादन भइरहेको छ।

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार  ०७ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।