उद्यमी बन्न चाहनेलाई कामपाको सहुलियत ऋण


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वरोजगार तथा उद्यमी बन्न चाहनेलाई सहुलियत ऋण प्रवाह गर्ने भएको छ । स्वरोजगार बन्न र रोजगारी सिर्जना गर्न कामपाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग सम्झौता गरी ऋण प्रवाह गर्न लागेको जानकारी दिएको छ ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०७७ अन्तर्गत सञ्चालित कोषको कर्जा लगानी तथा असूली कार्यविधि, २०७७ अन्तर्गत सहकार्यमा आधारित साझेदारी कार्यक्रम सञ्चालन गर्न सम्झौता भएको कामपाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्।

“सम्मानयुक्त उद्यम, स्वरोजगार र रोजगारी सिर्जनाका लागि हामीले सहुलियत ऋणमार्फत उद्यम विकास गर्न प्रयत्न थालेका हौँ,” कार्यवाहक प्रमुख डङ्गोलले भनीन, “यस कार्यक्रमका असल ऋणीलाई ६० प्रतिशत व्याज अनुदान हुनेछ । सुरुमा लिँदा ८ प्रतिशत व्याज हुनेछ । तोकिएको मापदण्डअनुसार नियमित रकम फिर्ता गर्नेलाई अन्त्यमा ६० प्रतिशत अर्थात् ४.८ प्रतिशत ब्याज अनुदानका फिर्ता हुनेछ । यसरी ऋणीका लागि व्याज ३.२ प्रतिशत मात्र हुनेछ ।”

उनका अनुसार यो सहकार्यमा आधारित साझेदारी कार्यक्रम हो । यसका लागि दुवै पक्षले २र२ करोड रुपैयाँ राखेर छुट्टै कोष स्थापना हुनेछ । यो कोषमा भएको रकम वित्तीय संस्था तथा सहकारी संस्थामार्फत कामपा क्षेत्रभित्रका स्थानीय बासिन्दालाई कर्जा लगानी हुनेछ । यसरी जम्मा भएको रकम कामपालाई कोषले पाँच वर्षपछि फिर्ता गर्नेछ ।

यो कर्जा लगानी आर्थिक रूपले विपन्न, महिला, दलित, आदिवासी जनजाति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि हो । विदेशबाट फर्केका व्यक्ति वा तालिम प्राप्त व्यक्तिलाई कर्जा लगानी हुनेछ । व्यक्तिका लागि सहुलियत ब्याज दरमा प्रतिव्यक्ति अधिकतम रु पाँच लाख र समूहगत लगानी गर्नका लागि बढीमा १५ जनाको समूहमा रु ५० लाख लगानी लगानी हुने कामपाले जानकारी दिएको छ ।

प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार  १७ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।