भन्सार विभागले सुरु गर्यो स्वचालित एक्जिम कोड प्रणाली, अनलाइनबाटै लिन सकिने

0
Shares

भन्सार विभागले सोमबारदेखि स्वचालित निकासी पैठारी संकेत नम्बर (एक्जिम कोड) प्रणाली सुरु गरेको हो । नयाँ प्रणालीको व्यवस्थासँगै वस्तु आयात तथा निर्यात गर्ने व्यवसायीले घर वा कारोबारस्थलबाटै एक्जिम कोड नवीकरण गर्न सकिने भएको छ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले सोमबार स्वचालित एक्जिम कोडको उद्घाटन गरेका छन् ।

सेवाग्राहीले एक्जिम कोड नवीकरण गर्दा भन्साल विनियमावली २०६४ को नियम ६६ घ बमोजिम कर चुक्ताको प्रमाणपत्र र नवीकरण गरिने अवधिसम्म म्याद भएको तीन लाख रुपैयाँको बैंक जमानत पेश गर्नुपर्ने व्यवस्था छ । यसरी नवीकरण गर्दा दस्तुरसमेत बुझाउनुपर्छ ।

विद्यमान व्यवस्था अनुसार नवीकरण दस्तुर बुझाउने, बैंक जमानत तथा करचुक्ता प्रमाणपत्र पेश गर्ने कार्यका लागि भन्सार विभाग वा भन्सार कार्यालयमा भौतिक रुपमै उपस्थित हुनुपर्ने व्यवस्था रहेको थियो।

नयाँ प्रणालीको सुरुवातले भौतिक रुपमा उपस्थित हुनुपर्ने बाध्यताको अन्त्य भएको छ । जसले लागत र समयको बचत हुने भएको छ।
नयाँ व्यवस्थाअनुसार नवीकरणका लागि निवेदन दिन सेवाग्राहीले लगइन युजर आईडी र पासवर्ड उपलब्ध गराउँछ । जसमा सेवाग्राहीलाई विभागको वेबसाइटै आफ्नो विवरण भर्न सक्छन् ।

हालसम्म राष्ट्रिय वाणिज्य बैंकमा भन्सार विभागको नाममा नवीकरण दस्तुर तिर्नुपर्ने व्यवस्थामा रहेकोमा अब विद्युतीय भुक्तानी मार्फत कनेक्ट आईपीएस मार्फत् गर्न सकिन्छ ।

नयाँ प्रणाली अनुसार करचुक्ताको प्रमाणपत्र भने विभागले आन्तरिक राजस्व विभागको पोर्टलबाट करचुक्ता प्रमाणपत्रको विभागले विद्युतीय भिडान गर्ने व्यवस्था मिलाएको छ। बैंक जमानत समेत सेवाग्राही आफैंले प्रणालीमा अपलोड गर्ने व्यवस्था मिलाइएको छ । यसरी सेवाग्राहीले नवीकरण भएको प्रमाणपत्र घर वा कार्यालयबाटै प्रिन्ट गर्न सकिन्छ।

लकडाउनका कारण असार मसान्तरमा नवीकरण गर्नुपर्ने एक्जिम कोडको नवीकरण गर्ने म्याद भन्सार विभागले तीन महिनाका लागि थप गरेको छ।