उद्योग वाणिज्य महासंघको बिहीबार पदाधिकारी बैठक बस्दै, चुनाव सर्ने प्रबल सम्भावना

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघले महासंघको ५४ वार्षिक साधारण सभा लगायतका समसामायिक विषयमा छलफल गर्न साउन ८ गते बिहीबार पदाधिकारी बैठक बोलाएको छ ।

बिहीबार दिउँसो साढे २ बजे बस्ने महासंघको पदाधिकारी बैठकले साउन २६ र २७ गतेका लागि बोलाइएको वार्षिक साधारण सभा स्थगित गर्ने प्रबल सम्भावना रहेको महासंघका उच्च अधिकारीहरुले नोट बजारलाई जानकारी दिएका छन् ।

ती अधिकारीले नोटबजारसँग कुरा गर्दै भने, ‘सरकारभन्दा महासंघ ठूलो होइन, तसर्थ सरकारले जे निर्देशन दिन्छ, सोही अनुसार अघि बढ्ने निर्णय महासंघले गर्नुपर्छ । महासंघ सरकारको खिलापमा जान सक्दैन।’

सरकारले लकडाउन खुला गरेपनि सामूहिक भोज पार्टी, सेमिनार तथा सामूहिक भेला गर्न रोक लगाइरहेको अवस्था रहेकाले साउन २६ र २७ गते महासंघको साधारण सभा संचालन गर्न नसकिने अवस्था रहेकाले निर्वाचनको साधारण सभा स्थगित गर्न लागिएको ती अधिकारीले बताए ।

महासंघले भोलि साधारण सभा स्थगित गरेमा अर्को सूचना जारी भएको ३० औं दिनपछि मात्र साधारण सभा आयोजना हुनेछ । महासंघको विधान अनुसार साधारण सभा गर्नुभन्दा कम्तिमा ३० दिन अगावै सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था छ ।

यसअघि महासंघले विधान अनुसार गत चैत २८ र २९ गते साधारण सभा गर्ने तय गरेको थियो । तर, सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामको लागि चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेपछि महासंघको चुनाव सरेको थियो ।

सरकारले असार १ गतेदेखि क्रमश: लकडाउन खुकुलो बनाउँदै लगेपछि महासंघले साउन २६ र २७ गतेका लागि ५४ औं वार्षिक साधारण सभा बोलाएको थियो।