सुनको भाउ प्रतितोला १ लाख रुपैयाँ नजिक, चाँदीको पनि बढ्दै

0
Shares

पहेँलो धातु सुनको मूल्य लगातार बढेर एक लाख रुपैयाँ नजिक पुगेको छ। महिलाहरुको महान चाड तिज नजिकिँदै गर्दा स्थानीय बजारमा सुनको मूल्य एक लाख रुपैयाँ नजिक पुगेको हो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारमा निर्धारण हुने सुनको भाउ अनुसार मूल्य निर्धारण हुने गरेको छ। अन्तर्राष्ट्रिय बजारमा नै सुनमा लगानीकर्ता आकर्षित बन्दा त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो ।

साउन ८ गते बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर र्कीतिमानी उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ९४ हजार ६५ रुपैयाँ तोकेको छ।

पछिल्लो समय सुनको मूल्यले प्रत्येक दिन नयाँ रेकर्ड कायम गर्दै आएको छ । लकडाउनअघि प्रतितोला ७७ हजार रुपैया रहेको सुनको मूल्य बिहीबार ९४ हजार ५०० रुपैयाँ पुगेको हो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै गएकाले एक लाख रुपैयाँसम्म पुग्ने व्यवसायीको अनुमान छ ।

सरकारले सुनमा गरेको भन्सार वृद्धि र अन्तर्राष्ट्रिय बजारमा शेयर मूल्यसमेत घट्दै गएकाले सुनमा लगानी बढ्दै गएको छ । सरकारले बजेटमार्फत प्रति दशग्राम सुनमा २ हजार रुपैयाँ भन्सार बढाएको थियो ।

गत वर्ष यस अवधिमा दैनिक ३० देखि ४० किलो सुनको खपत हुने गरेकोमा अहिले मुश्किलले दैनिक ५ देखि १० किलो खपत हुने गरेको व्यवसायीको भनाइ छ । ग्राहकको क्रयशक्तिभन्दा पनि सुनको मूल्य उच्च भएपछि बजारमा सुनको कारोबार नै ठप्प छ ।

यस्तै चाँदीको भाउ पनि बिहीबार १० रुपैयाँले बढेर १ हजार १४५ रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला १ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो। चाँदीको भाउ बुधबार ९५ रुपैयाँले बढेको थियो।

बुधबार तोलामा १ हजार ३०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँ, र तेजावी सुन ९३ हजार ५६० रुपैयाँमा खरिद बिक्री भएको थियो।

मासिक ५ अर्ब रुपैयाँ बराबरको सुनचाँदी व्यवसायीको कारोबार हुने गरेकोमा कोरोना भाइरसको कारणले सुनचाँदी व्यवसायमा झन्डै १५ अर्बको नोक्सान भएको महासंघले जनाएको छ ।