काठमाडौँ । दसैँ आउनुअघि नै नेपाली परिवारको खर्च बढ्न थाल्छ । नयाँ कपडा, मासु तथा खाद्यान्न, यातायात खर्च, दक्षिणा, उपहार, पाहुना सत्कारदेखि घर सजावटसम्मका लागि परिवारको खल्तीबाट ठूलो रकम बजारमा पुग्छ ।
तर दसैँमा हामीले खर्च गरेको त्यो पैसा अन्ततः कहाँ पुग्छ ? कसको आम्दानी बन्छ ? र कति पैसा फेरि नेपाली अर्थतन्त्रभित्रै घुम्छ ?
‘आफ्नो हिसाब’ नामक व्यक्तिगत वित्त व्यवस्थापन एपले १८ भदो २०८३ मा प्रकाशित गरेको विश्लेषण अनुसार काठमाडौँमा बस्ने दुई बालबालिकासहित चार सदस्यीय परिवारको दसैँ खर्च करिब ८५ हजार रुपैयाँ पुग्न सक्छ । विश्लेषणमा नयाँ कपडामा १८ देखि ३० हजार, खसी तथा मासुमा १५ देखि २५ हजार, यातायातमा ६ देखि १२ हजार, दक्षिणामा ५ देखि १५ हजार र आफन्तका लागि उपहारमा ४ देखि १० हजार रुपैयाँसम्म खर्च हुने उल्लेख छ । थप खाद्यान्न, पेय पदार्थ तथा पाहुना सत्कारमा ८ देखि १५ हजार र पूजा सामग्री तथा घर सजावटमा ३ देखि ८ हजार रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ ।
यो खर्च एउटा परिवारमा मात्र सीमित हुँदैन । नयाँ कपडा किन्दा पसलको आम्दानी बढ्छ । पसलले थोक व्यापारी वा वितरकबाट सामान खरिद गर्छ । त्यहाँबाट रकम आयातकर्ता वा स्वदेशी उत्पादकसम्म पुग्छ । मासु किन्दा उपभोक्ताले तिरेको रकम किसान वा पशुपालक, व्यापारी र ढुवानी व्यवसायीसम्म पुग्छ । यातायातमा खर्च भएको रकम यातायात व्यवसायी, चालक र इन्धन आपूर्तिकर्ताको आम्दानी बन्छ ।
अर्थात् दसैँमा एउटा परिवारले गरेको खर्च एउटा ठाउँमा पुगेर रोकिँदैन । एउटाको खर्च अर्कोको आम्दानी बन्छ र त्यही आम्दानी फेरि अर्को वस्तु वा सेवामा खर्च हुन्छ । यही प्रक्रियाले चाडपर्वका बेला बजारमा आर्थिक गतिविधि बढाउँछ ।
तर यहाँ अर्को महत्वपूर्ण प्रश्न जोडिन्छ—त्यो पैसा अन्ततः नेपालभित्रै घुम्छ कि विदेश पुग्छ ?
नयाँ कपडामा खर्च भएको १८ देखि ३० हजार रुपैयाँको उदाहरण लिने हो भने त्यो खुद्रा पसलबाट थोक व्यापारी, वितरक हुँदै आयातकर्ता वा स्वदेशी उत्पादकसम्म पुग्न सक्छ । वस्तु स्वदेशी उत्पादनको हो भने रकम किसान, मजदुर, उत्पादक, व्यापारी र सेवा प्रदायक हुँदै देशभित्रै पटक–पटक घुम्ने सम्भावना हुन्छ । तर आयातित कपडा वा अन्य उपभोग्य वस्तु खरिद गर्दा खुद्रा पसल हुँदै थोक व्यापारी र आयातकर्तासम्म पुगेको रकमको एउटा हिस्सा अन्ततः विदेशी उत्पादक वा आपूर्तिकर्तासम्म पुग्छ ।
मासुमा खर्च भएको रकमको यात्रा पनि यस्तै हुन्छ । उपभोक्ताले तिरेको रकम किसान वा पशुपालक, व्यापारी र ढुवानी व्यवसायी हुँदै बजारमा घुम्छ । त्यसैले दसैँमा स्वदेशमै उत्पादित वस्तु र सेवामा भएको खर्चले अर्थतन्त्रका विभिन्न तहमा आम्दानी सिर्जना गर्ने सम्भावना हुन्छ ।
दक्षिणाको पैसा पनि परिवारको हातमा मात्र थन्किँदैन । एक परिवारले दिएको दक्षिणा अर्को परिवारको हातमा पुग्छ र त्यो रकम फेरि खाद्यान्न, कपडा, शिक्षा वा अन्य उपभोगमा खर्च हुन सक्छ । यसरी दसैँमा हुने खर्चले एक परिवारबाट अर्को परिवार हुँदै बजारमा रकमको प्रवाह बढाउँछ ।
तर नेपालको अर्थतन्त्रमा यस्तो खर्चको अर्को पाटो पनि छ—उपभोगको ठूलो हिस्सा आयातित वस्तुमा निर्भर हुनु ।
अर्थविद् चन्द्रमणि अधिकारीका अनुसार नेपालमा अहिले श्रमिक विदेश पठाउने र उनीहरूले पठाएको पैसाबाट विदेशी वस्तु खरिद गर्ने चक्र बनेको छ । “देशले अहिले श्रमिक पठाउँछ र तिनै श्रमिकले पसिना बगाएर पठाएको पैसाबाट पुनः विदेशी सामान नै आयात गर्छ,” अधिकारी भन्छन्, “हामी उत्पादन गरेर कर तिर्ने होइन, विदेशीको उत्पादन किनेर कर तिर्ने अर्थतन्त्रमा रूपान्तरण भएका छौँ ।”
उनका अनुसार यस्तो अवस्थाले चाडपर्वका समयमा हुने खर्चको ठूलो हिस्सा आन्तरिक उत्पादनसँग जोडिन नसक्ने अवस्था सिर्जना गर्छ । बजारमा पैसा चलायमान भए पनि त्यसको सम्पूर्ण लाभ नेपाली उत्पादक, किसान र मजदुरसम्म पुग्न सक्दैन ।
दसैँको खर्चमा विप्रेषणको भूमिका पनि महत्वपूर्ण देखिन्छ । आइएमई पेका प्रमुख सुमन पोखरेलका अनुसार विगतका वर्षको तथ्यांक हेर्दा चाडपर्वको समयमा सामान्य अवस्थाको तुलनामा विप्रेषण आप्रवाह २० देखि २५ प्रतिशतसम्म बढ्ने गरेको छ । सिटी एक्सप्रेसका रितेश मित्तल पनि चाडपर्वका बेला विप्रेषण आप्रवाहमा २५ प्रतिशतसम्म वृद्धि हुने बताउँछन् । उनका अनुसार विप्रेषणले यो समयमा आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउँछ ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२÷८३ को असोजमा मात्रै २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ विप्रेषण नेपाल भित्रिएको थियो । तर घरपरिवारको हातमा पुगेको विप्रेषणको ठूलो हिस्सा तत्कालीन उपभोगमै खर्च हुने गरेको राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकले देखाउँछ । कार्यालयका अनुसार विप्रेषण प्राप्त गर्ने परिवारले कुल रकमको ७२.४ प्रतिशत दैनिक उपभोगमा खर्च गर्छन् भने पूँजी निर्माणमा जाने हिस्सा १.२ प्रतिशत मात्रै छ ।
यसको अर्थ दसैँका बेला नेपाल भित्रिने र बजारमा पुग्ने ठूलो रकमले व्यापार, यातायात, होटल तथा रेस्टुरेन्ट, कृषि र विभिन्न सेवा क्षेत्रको कारोबार बढाउन सक्छ । तर त्यो खर्च स्वदेशी उत्पादनमा भयो कि आयातित वस्तुमा भन्ने कुराले त्यसको आर्थिक प्रभाव फरक पार्छ ।
स्वदेशी उत्पादन र सेवामा खर्च भएको पैसा किसान, मजदुर, उत्पादक, व्यापारी र सेवा प्रदायक हुँदै देशभित्रै पटक–पटक घुम्न सक्छ । यसले आम्दानीसँगै रोजगारी सिर्जना गर्ने सम्भावना बढाउँछ । आयातित वस्तुमा भएको खर्च भने बजारका विभिन्न तह पार गर्दै अन्ततः विदेशी उत्पादक वा आपूर्तिकर्तासम्म पुग्छ ।
त्यसैले दसैँको अर्थतन्त्रलाई केवल “नेपालीले कति खर्च गर्छन् ?” भनेर हेर्नुभन्दा “त्यो खर्चको पैसा कहाँ पुग्छ ?” भनेर हेर्नु महत्वपूर्ण हुन्छ । दसैँमा बजारमा आउने ठूलो रकम स्वदेशी उत्पादन, कृषि, साना उद्योग र सेवासँग जोड्न सके चाडपर्वको उपभोगले तत्कालीन रूपमा बजार चलायमान बनाउनुका साथै नेपाली अर्थतन्त्रभित्र आम्दानी र रोजगारी सिर्जना गर्ने आधारसमेत बनाउन सक्छ ।








