उद्योग वाणिज्य महासंघको पदाधिकारी बैठकः आवेशमा निर्णय नलिन पूर्वअध्यक्षहरुको आग्रह

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरुले महासंघको निर्वाचनबारे आवेशमा निर्णय नलिन पदाधिकारीहरुलाई आग्रह गरेका छन् ।

साउन २६ र २७ गतेका लागि तोकिएको ५४ औँ वार्षिक साधारण सभा स्थगित गर्ने वा नगर्ने भन्ने निर्णय लिन बसेको पदाधिकारी बैठकमा पूर्वअध्यक्षहरुले यस्तो धारणा राखेका हुन् ।

जारी बैठकमा महासंघका पदाधिकारीसहित अधिकांश पूर्वअध्यक्षहरु सहभागी छन् । बैठक हुँदाहुँदै बाहिरिएका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठले कुनै पनि निर्णय अवेशमा आएर नलिन सुझाएको नोटबजारलाई जानकारी दिए । ‘सबैलाई समेटेर समन्वय गर्दै अघि बढ्न हामीले आग्रह ग¥यौं’, श्रेष्ठले भने ।

महासंघकी अध्यक्ष भवानी राणाले निर्वाचनका सम्बन्धमा ठोस निर्णय लिन बिहीबार पूर्वअध्यक्षहरु सहित पदाधिकारी बैठक डाकेकी थिइन् ।

सरकारले लकडाउन खुला गरे पनि सामूहिक भोज, पार्टी, सेमिनार तथा सामूहिक भेला गर्न रोक लगाएका कारण महासंघ नेतृत्व साधारण सभा स्थगित गर्ने मुडमा पुगेको छ । संस्थापन पक्षले साधारण सभा स्थगित गर्नुपर्ने बताउँदै आएको छ भने चन्द्र ढकाल पक्ष भने साधारण सभा रोक्न नहुने पक्षमा छन् ।

बैठकमा पूर्व अध्यक्षहरु महेशलाल प्रधान, पद्म ज्योति, रविभक्त श्रेष्ठ , विनोदबहादुर श्रेष्ठ , चण्डीराज ढकाल, कुशकुमार जोशी, सुरज वैद्य तथा पशुपति मुरारका लगायत सहभागी रहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।