नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १४७ जनाको आरटी–पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।
प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ रहेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा थप १५६ जना कोरोना संक्रमित निको भइ घर फर्केका छन्। योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १२ हजार ८४० पुगेको छ।
कोभिड–१९ बाट थप एकजनाको मृत्यु भएको छ। मृत्यु हुने वीरगञ्जका ७० वर्षीय पुरूष हुन्। साउन ६ गते अस्पताल भर्ना भएका उनको हिजो, साउन ७ गते मृत्यु भएको थियो।
नारायणी अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोभिड- १९ बाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया