बैंकको कर्जामा ठूला ऋणी नै हाबी, ठूला ऋणीको हिस्सा साढे २७ प्रतिशत


बैंक/वित्तीय संस्था मार्फत वित्तीय स्रोत परिचालन गर्न सानाभन्दा पनि ठूला ऋणी नै अघि छन् । बैंक वित्तीय संस्थामा लगानी रहेका तथा उद्योग व्यवसायमा संलग्न ठूला व्यवसायीले नै बैंक वित्तीय संस्थाको स्रोत परिचालन गरेको नेपाल राष्ट्र बैंकले जनाएको हो ।

बैंक वित्तीय संस्थामा पनि उद्योगी व्यवसायीको लगानी उच्च भएकाले पनि ठूलो कर्जाका ऋणीको संख्या अन्यको तुलनामा धेरै देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार ५ करोडभन्दा माथिको कर्जा लिनेको संख्या अन्यको भन्दा धेरै रहेको जनाएको छ।

बैंक वित्तीय संस्थाबाट प्रवाह भएको कुल कर्जामा ५ करोड रुपैयाँ ठूला ऋणको हिस्सा २७.६ प्रतिशत छ। केन्द्रीय बैंकका अनुसार ठूला ऋणीको हिस्सा उच्च हो।

गत आर्थिक वर्षको चैतसम्ममा बैंक तथा वित्तीय संस्थामा कर्जाखाता १५ लाख २५ हजार ४ सय ३५ वाट छन्। यो कर्जा खाता संख्याको आधारमा पनि ५ करोड भन्दा माथिका ऋण खाता ४ लाख २१ हजार २० छन्। तर, सोही अवधिमा बैंक तथा वित्तीय संस्थामा निक्षेप खाताको संख्या ३ करोड १८ लाख ८५ हजार ७ सय ७९ छन् ।

निक्षेप खाताको सन्दर्भमा निक्षेपकर्ताको डुब्लिकेसन उच्च छ । तर, कर्जा खाताको हकमा भने डुब्लिकेसन न्यून भएकाले पनि संख्या कम भएको हो । त्यसका साथै कर्जा लिनका लागि धितो चाहिने र एउटै धितोले मल्टिपल कर्जा लिन नपाइने व्यवस्थाले गर्दा पनि कर्जा खाताको संख्या न्यून रहेको हो ।
तर, डुब्लिकेसन नै भए पनि सर्वसाधारणमा अझै पनि बैंकबाट कर्जा लिनेभन्दा पनि बचत राख्ने वा सुरक्षाका लागि बैंक वित्तीय संस्थामा निक्षेप राख्ने प्रचलनले गर्दा निक्षेप खाताको संख्या कर्जाको तुलनामा अत्याधिक उच्च देखिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७६ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये १५ लाखसम्मका कर्जाको हिस्सा १५, १५ लाखदेखि ५० लाखसम्मका २४.९, ५० लाखदेखि १ करोडसम्मका १०.२ प्रतिशत, १ करोडदेखि ५ करोड रुपैयाँसम्मको कर्जा २२.३ प्रतिशत र ५ करोड माथिको कर्जाको हिस्सा २७.६ प्रतिशत छ ।

बैंकहरुले प्रवाह गर्ने कर्जामा दोस्रो धेरै माग हुने कर्जा भनेको १५ लाखदेखि ५० लाख रुपैयाँसम्मको छ । कुल कर्जामध्ये १५ देखि ५० लाखसम्मको कर्जाको हिस्सा २४.९ प्रतिशत छ । यस अन्तर्गत प्रायः हायर पर्चेच, होम लोन, ओभर ड्राफ्ट लगायतका व्यक्तिगत कर्जा पर्छन् ।

तर, बैंकहरुले साना तथा मझौला उद्यमका लागि दिने १ करोड रुपैयाँसम्मको कर्जाको हिस्सा १०.२ प्रतिशत मात्र छ । तर, बैंक वित्तीय संस्थाले प्रदान गर्ने १५ लाखसम्मको कर्जाको हिस्सा भने १५ प्रतिशत नै रहेको केन्द्रीय बैंकले जनाएको छ । गत चैतसम्ममा बैंक वित्तीय संस्थाको कुल कर्जा प्रवाह ३२ खर्ब ६४ अर्ब रुपैयाँ छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।