विदेशबाट ३४ हजार ८३० नेपालीको उद्धार, अझै ९४ वटा शव ल्याउन बाँकी

0
Shares

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण विदेशमा यो साता थप १ जना नेपालीको निधन भएको छ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता यूकेमा १ जनाको निधन भएको हो । गैरआवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र १ सय ६१ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ ।

समितिका अनुसार ३६ मुलुकमा रहेका ३१ हजार १ सय ५० कुल संक्रमितमध्ये २९ हजार २ सय ४३ जना अर्थात ९३ प्रतिशतभन्दा बढी नेपालीहरु कोरोना संक्रमणमुक्त भएका छन् ।

अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भएपनि यो साता त्यहाँ संक्रमणदर केही बढेको छ । यस्तै यूएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ ।

संघका अनुसार नेपालमा ज्यान गुमाएका ४५ जनासहित विश्वभर ज्यान गुमाउने नेपालीको संख्या २ सय ६ जना पुगेको छ । नेपालमा शनिबार साँझसम्म संक्रमितको संख्या १८ हजार ४ सय ८३ जना पुगेको छ ।

यसैबीच स्वास्थ्य समितिले सार्वजनिक स्थलमा जाँदा, र सवारी साधन प्रयोगका क्रममा अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड सम्बन्धमा विशेष मार्गदर्शन समेत तयार पारेको छ । समितिले सार्वजनिक स्थलमा जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न समेत सुझाएको छ ।

विदेशमा अलपत्र ३४ हजार ८ सय ३० जना नेपालीको उद्धार

यो सातासम्म ३४ हजार ८ सय ३० जना नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघ, विदेशस्थित कूटनीतिक नियोग एवं नेपाल सरकारको सहकार्यमा विभिन्न २५ वटा मुलुकमा कोरोना भाइरसको संक्रमणका कारण प्रभावित नेपालीलाई स्वदेश फर्काइएको हो ।

यद्यपी, साउन ८ गते बिहिबारबाट नेपाल सरकारले तत्कालका लागि उद्धार उडान स्थगित गरेको छ । आगामी भदौ १ गतेबाट पुनः नियमित उडान हुनेछ ।

विदेशबाट अझै ९४ वटा शव नेपाल ल्याउन बाँकी

यस्तै मलेसिया, साउदी, कतार, युएई, कुवेत, बहराइन, ओमान, दक्षिण कोरिया लगायतका देशबाट यो सातासम्म २ सय १६ वटा शव नेपाल पुर्याई परिवारलाई बुझाइएको छ ।

विदेशमा विभिन्न कारण ज्यान गुमाएका ४ सय ७४ जनामध्ये १ सय ६५ जनाको परिवारको सहमतिमा गन्तव्य मुलुकमा अन्त्येष्टि गरिएको छ । विदेशबाट अझै ९४ वटा शव नेपाल ल्याउन बाँकी छ ।

उच्चस्तरीय समितिको बैठक सम्पन्न

यसैबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) को कोभिड–१९ उच्चस्तरीय समितिको बैठक शनिवार सम्पन्न भएको छ ।

अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ सुरु भएदेखि समितिले गरेका गतिविधीको समिक्षा गर्नुका साथै आगामी रणनीति तय गरेको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पन्तले कोरोना भाइरस ९कोभिड १९० को महामारीमा विश्वभर छरिएका राष्ट्रिय समन्वय परिषद् (एनसीसी)को निर्वाह गरेको भूमिका महत्वपूर्ण भएको बताए ।

उनले विदेशमा रहेका नेपाली समुदायले व्यहोर्नु परेको अप्ठ्यारो र संवेदनशिल यस घडीमा मलम लगाउने काम भइरहेको भन्दै यस कार्यलाई निरन्तरता दिन समेत आग्रह गरे । आइएलओले गरेको ५ करोड रुपैयाँको सहयोगले संघले नेपालीको मात्र नभएर अन्तर्राष्ट्रिय समुदायले समेत विश्वास गर्ने वातावरण बनेको भन्दै यसले सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गरे ।उनले कोरोना भाइरसका कारण विदेशबाट नेपाल फर्किएका नेपालीहरुको लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता समेत व्यक्त गरे ।

बैठकमा महासचिव डा.हेम राज शर्माले कोरोना भाइरसको महामारीमा ५० देशमा २१ सय स्वयंसेवक खटिरहेको जानकारी दिए । उनले संघका विभिन्न देशमा स्थापना गरिएका कल सेन्टरमा मार्फत ८१ हजार भन्दा बढीले परामर्श लिएको बताए ।

सरकारले होम क्वारेन्टिनमा राख्दा समुदायमा कोरोना फैलिन सक्ने जोखिम

बैठकमा स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले गैरआवासीय नेपालीहरुमा कोरोना प्रभावबाट बच्न र बचाउनका लागि भइरहेका प्रयास र जोखिम बढ्दै गएको पछिल्लो समयमा अपनाउनुपर्ने सावधानीका बारेमा आफ्नो धारणा राखेको थिए ।

बैठकमा बोल्ने वक्ताहरुले कोरोना भाइरसको जोखिम अझै बढेकोले ढुक्क भएर बस्न नहुने र आफूले सावधानी अपनाए मात्रै अरुलाई पनि संक्रमणबाट जोगाउन सकिन्छ भन्ने भावना मनन गर्नुपर्नेमा जोड दिएका थिए ।

बैठकमा सहभागितहरुले नेपालमा फर्किकाहरुलाई सरकारले होम क्वारेन्टिनमा राख्दा समुदायमा कोरोना फैलिन सक्ने जोखिम अझै बढेको बताउँदै त्यस सम्बन्धमा आवश्यक सावधानी अपनाउन उनीलाई सचेत बनाउनुपर्नेमा जोड दिएका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।