ज्योति विकास बैंकले घटाएर सार्वजनिक गर्यो ब्याजदर, ४% प्रिमियममै शेयर धितोकर्जा

0
Shares

ज्योति विकास बैंक (JBBL) ले पनि आफ्नो ब्याजदर घटाएको छ। बैंकले साउन ११ गते आइतबारदेखि लागू हुनेगरी निक्षेप र कर्जा दुबैको ब्याजदर घटाएको हो।

नयाँ ब्याजदर अनुसार बैंकले व्यक्तिगत मुद्दती निक्षेप खातामा एक वर्ष वा सोभन्दा बढी अवधिका लागि अधिकतम ७.७५ प्रतिशत मात्र ब्याजदर प्रदान गर्ने भएको छ। यसअघि बैंकले व्यक्तिगत मुद्दती निक्षेप खातामा ९ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आइरहेको थियो। यसैगरी ६ महिनादेखि १ वर्षको मुद्दती निक्षेपमा ७.५० र ३ महिनादेखि ६ महिना अवधिको बीचमा ७.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ।

बैंकले संस्थागत मुद्दती निक्षेप खातातर्फ ६.२५ देखि अधिकतम ६.७५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ। यसअघि बैंकले संस्थागतमा ८ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आइरहेको थियो। कल निक्षेपमा ३.५० प्रतिशत ब्याज दिने जनाएको छ।

साधारण बचतमा बैंकले ४.५० देखि ५.५० प्रतिशत ब्याज दिने भएको छ। १० प्रकारका खातामा साढे ५ प्रतिशत ब्याज दिनेगरी सूचना प्रकाशन गरेको बैंकले ३ प्रकारका खातामा ५ प्रतिशत र ३ प्रकारका खातामा ४.५० प्रतिशत ब्याजदिने जनाएको छ। वैदेशिक मुद्रामा खोलिने बचत खातामा अधिकतम २ प्रतिशत ब्याज दिनेछ।

यसअघि बैंकले साधारण बचत खातामा नै ५.७५ देखि ६ प्रतिशत ब्याज दिँदै आइरहेको थियो।

उता बैंकले कर्जामा पनि आधार ब्याजदरमा न्यूनतम २ देखि अधिकतम ५ प्रतिशत प्रिमियम थप गरी प्रवाह गर्ने जनाएको छ। असार मसान्तमा बैंकको आधार ब्याजदर १०.५८ प्रतिशत रहेको छ।

नयाँ ब्यवसाय सञ्चालन गर्न चाहनेहरुका लागि स्टार्टअप फ्लेक्सी लोनमा आधार ब्याजदरमा २ प्रतिशत प्रिमियम तथा विपन्नवर्ग कर्जा संस्थागतमा ३ देखि ४ प्रतिशत मात्र प्रिमियम चार्ज गर्ने जनाएको छ।

यस्तै आधार ब्याजदरमा अधिकतम ४ प्रतिशत प्रिमियम दरमा शेयरधितो कर्जा उपलब्ध गराउने जनाएको बैंकले एजुकेशनल लोन, एसएमई लोन, होम लोनमा अधिकतम ४.५० प्रतिशतसम्म प्रिमियम दरमा नै कर्जा उपलब्ध गराउने उल्लेख गरेको छ। बैंकले शेयरधितो कर्जामा यसअघि आधार ब्याजदरमा ६ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा प्रवाह गर्दै आइरहेको थियो।

बैंकले बिजनेस, रियल स्टेट, हायर पर्चेज (प्राइभेट, कमर्सियल), व्यक्तिगत कर्जा, ओभरड्राफ्ट, सुनचाँदी धितोमा प्रवाह गरिने लोन, विपन्नवर्ग कर्जा (व्यक्तिगत), एग्रिकल्चर, प्रोफेसनल लोन, र ज्योति माइक्रोफाइनान्स लोनमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम लाग्ने जनाएको छ।

यसअघि बैंकले आधार ब्याजदरमा ६.५० प्रतिशतसम्म्म प्रिमियम थप गरि कर्जा प्रवाह गर्दै आइरहेको थियो। चैतसम्म बैंकको आधार ब्याजदर ११.१६ प्रतिशत रहेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।