साउन लागेपछि ४७% ले बढे अनलाइन प्रयोगकर्ता, कुन ब्रोकरमा कति ?

0
Shares

नेपाल धितोपत्र बोर्डले नयाँ आर्थिक वर्ष सुरुभएयता अनलाइन शेयर कारोबारलाई प्रोत्सहान गरेपछि अनलाइन प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ । 

धितोपत्र बोर्डले लगानीकर्ताहरूले शेयर खाताको शेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न प्रोत्साहित गरेपछि अनलाइन लिनेहरुको संख्या ह्वात्तै बढेको हो । लकडाउन खुकुलो भएपछि खुलेको बजारमा बोर्डले अनलाइन कारोबारलाई जोड दिदै आएको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार साउन लागेयता मात्रै १५ हजार बढी अनलाइन प्रयोगकर्ता थपिएका छन् । गत असार २८ गतेसम्म कुल ३१ हजार ९८८ जना शेयर लगानीकर्ताले अनलाइन कारोबारका लागि युजर पासवर्ड लिएकोमा त्यो संख्या बढेर साउन १६ गतेसम्म ४७ हजार २६ पुगेको छ । साउन लागेयता नै अनलाइन प्रयोगकर्ताको संख्या ४७ प्रतिशतले बढेको हो।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म १७ लाख ७६ हजार ३३७ डिम्याट खाता खुलेका छन् । यीमध्ये करिब ६ लाख बढी लगानीकर्ताले प्राथमिक बजारमा शेयर गरेका छन् । पछिल्लो चरणमा निष्कासन भएको आइपीओमा करिब ६ लाख लगानीकर्ताले आवेदन गर्ने गरेको पाइएको छ ।

नेप्सेका अनुसार धितोपत्रको दोस्रो बजारमा सक्रिय लगानीकर्ताको संख्या २ लाख ६४ हजार ६३३ पुगेको छ । जसमध्ये ४७ हजार २६ जनाले अनलाइन प्रयोगका लागि युजर आईडी र पासवर्ड लिइसकेका छन् । तर नियमित शेयर कारोबार गर्नेका संख्या भने निकै कम छ । अनलाइन कारोबारका लागि खुलेका खाता र नेप्सेमा दैनिक हुने कारोबार हेर्दा करिब दश हजार लगानीकर्ताले नियमित कारोबार गर्ने गरेको आँकलन गर्न सकिन्छ ।

कुन ब्रोकरमा कति अनलाइन प्रयोगकर्ता ?

नेप्सेका अनुसार अनलाइन ग्राहक सबैभन्दा बढी ब्रोकर नं ४२ सनी सेक्युरिटीजमा ३ हजार २३९ रहेका छन् । यस्तै ब्रोकर नं ५८ नासा सेक्युरिटीजमा २ हजार ८८४, ब्रोकर नं ३४ भिजन सेक्युरिटीजमा मात्रै २ हजार ७७९ अनलाइन ग्राहक रहेका छन्। । ब्रोकर नं ३५ कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीजमा २ हजार ५१६ र ब्रोकर नं ३६ दिपशिखामा २ हजार १७६ अनलाइन प्रयोगकर्ता रहेका छन् । हालसम्म ५ ब्रोकरमा २ हजार बढी, १५ ब्रोकरमा हजार बढी अनलाइन ग्राहक छन्। ।

सबैभन्दा कम ब्रोकर नं १८ सगरमाथा सेक्युरिटीजका अनलाइन प्रयोगकर्ता १३८ रहेका छन्। पाँच ब्रोकर कम्पनीमा हालसम्म पनि अनलाइन प्रयोगकर्ताको संख्या ३०० नाघ्न सकेको छैन । १५ ब्रोकरकम्पनीमा अनलाइन प्रयोगकर्ता ५०० भन्दा कम रहेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।