असोजका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक


काठमाडौँ । बैंकहरुले असोज महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । असोज महिनाका लागि २० वटा वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ०.०४६५ प्रतिशतविन्दुले घटेर ४.०८९५ प्रतिशतमा झरेको छ । भदौमा व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ४.१३६ प्रतिशत रहेको थियो ।

त्यसैगरी, संस्थागत निक्षेपको औसत ब्याजदर पनि भदौको ३.०८१ प्रतिशतबाट ०.०१४५ प्रतिशतविन्दुले घटेर ३.०६६५ प्रतिशत कायम भएको छ ।

एभरेष्ट बैंकले ब्याजदर सबैभन्दा बढी घटाएको छ । । जसअनुसार बैंकले व्यक्तिगत निक्षेपको दरमा ०.५५ प्रतिशतविन्दुले घटाउँदै ३.५ प्रतिशत र संस्थागततर्फ ०.२५ प्रतिशतविन्दुले घटाएर ३.२५ प्रतिशत कायम गरेको छ ।

त्यसैगरी, नबिल बैंकले पनि व्यक्तिगत निक्षेपतर्फको ब्याजदर ०.३ प्रतिशतविन्दुले घटाएर ४.२५ प्रतिशत बनाएको छ भने संस्थागत दरलाई ३.०१ प्रतिशतमै यथावत राखेको छ । अन्य बैंकहरूमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगतमा ०.०५ प्रतिशतविन्दु घटाएर ३.७५ प्रतिशत र कुमारी बैंकले ०.०३ प्रतिशतविन्दु घटाएर ३.७३ प्रतिशत बनाएका छन् भने सिटिजन्स बैंकले संस्थागत ब्याजदर ०.२५ प्रतिशतविन्दुले घटाएर २.७५ प्रतिशतमा झारेको छ ।

अर्कोतर्फ, सानिमा बैंकले मात्र संस्थागत निक्षेपको ब्याजदर ०.२१ प्रतिशतविन्दुले बढाएर ३.५१ प्रतिशत पुर्याएको छ भने व्यक्तिगततर्फ ४.५ प्रतिशतकै दरलाई निरन्तरता दिएको छ ।

प्रभु बैंकले अधिकतम ४.५५ प्रतिशत व्यक्तिगत ब्याजदरसहित शीर्ष स्थान ओगटेको छ । माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकसहित कुल १५ वटा बैंकहरूले भने असोज महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदरमा कुनै परिवर्तन नगरी अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन् ।

प्रकाशित मिति: ३१ भाद्र २०८३, बुधबार  १० : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।