एनएमबी बैंकको अगुवाइमा मादमेखोला आयोजनामा ४ संस्थाले ३ अर्ब ३२ करोड लगानी गर्ने

0
Shares

कास्कीमा आयोजनास्थल रहेको मादमेखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । कूल २४ मेगावाट क्षमताको सो आयोजनामा एनएमबी बैंकको अगुवाइमा अन्य तीन संस्थाले संयुक्त लगानी गर्ने भएका छन् ।

मादमे खोला हाइड्रोपावर प्रालिका अध्यक्ष सुसन कर्माचार्यका अनुसार आज एनएमबी बैंकसँग लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।

एनएमबी बैंकको अगुवाईमा ४ वित्तीय संस्थाले ३ अर्ब ३२ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएका छन । नेपालको ऊर्जा क्षेत्रमा लगानी गरिरहेको अग्रणी बैंक एनएमबीले सो आयोजनामा एक अर्ब ५० करोड लगानी गर्ने भएको छ । आयोजनाको कुल लागत ४ अर्ब ४८ करोड रुपैयाँ अनुमान गरिएको छ ।

जसमध्ये ३ अर्ब ३२ करोड ५० लाख रुपैयाँ अर्थात ७५ प्रतिशत बैंकहरुको ऋण लगानी हुनेछ । कर्मचारी सञ्चय कोषले ५० करोड, प्रभु बैंक र एनआइसी एसिया बैंकले ५०/५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन । एनएमबीले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछ । २५ प्रतिशत स्वपुँजी भने प्रवर्द्धकहरूबाट जुटाउने योजना छ ।

वित्तीय लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी र कम्पनीका तर्फबाट अध्यक्ष कर्माचार्यले हस्ताक्षर गरे ।

प्रवद्र्धक कम्पनीका अनुसार आगामी तीन वर्षभित्र आयोजनाले विद्युत् उतपादन गर्नेछ । उत्पादित विद्युत् १९ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको मादी सवस्टेशनमा जोडिनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।