उवा महासंघको कार्यसमिति बैठक बस्दै, निर्वाचनबारे निर्णय गर्ने

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघले स्थगित वार्षिक साधारणसभाको नयाँ मिति तय गर्न आज दिउँसो कार्यसमिति बैंठक बस्दैछ । बैठकले महासंघको साधारण सभा कहिले र कसरी गर्ने भन्ने बारेमा निर्णय लिने बताइएको छ ।

चैतमा हुनुपर्ने साधारण सभा कोरोना रोकथाम तथा नियन्त्रणका लािग सरकारले लकडाउन गरेका कारण स्थगित भएपछि महासंघले साउन २६ र २७ गते ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन गर्ने तय गरेको थियो । तर, सरकारले सभा सम्मेलन भेला गर्न अनुमति नदिएको भन्दै साउन ८ गते बसेको महासंघका पूर्वअध्यक्ष र पदाधिकारी भेलाले उक्त साधारण सभा स्थगित गर्ने निर्णय लिएकोे थियो।

आज बस्ने कार्यसमिति बैठकले ५४ औं साधारणसभा सम्बन्धमा निर्णय गर्ने एक पदाधिकारीले जानकारी दिए । आजको बैठकमा निर्वाचनको मिति, मोडालिटीका बिषयमा छलफल हुने बताइएको छ । बैठकमा भर्चुअल निर्वाचनको मोडलका बारेमा समेत छलफल हुने बताइएको छ ।

तर, महासंघले डिजिटिल निर्वाचनको तयारी थालेपछि विधान विपरीत भएको भन्दै विरोध हुन थालिसकेको छ । कोरोना संक्रमणको दर बढ्दै गएकाले अहिलेको अवस्थामा निर्वाचन गर्न नसकिने महासंघको राजनीतिलाई लामोसमयदेखि नियालीरहेका एक जानकार पूर्व पदाधिकारीले बताए । ‘अहिले काठमाडौंमा निर्वाचन गर्नसक्ने अवस्था छैन्, जिल्ला जिल्ला र डिजिटिल निर्वाचन गर्ने व्यवस्था विधानमा छैन् । विधान विपरीतको निर्वाचन मान्य हुँदैन्।’ उनले भने ।

सरकारले समेत लकडाउन गर्ने बिषयमा छलफल थालिसकेको र विज्ञहरुले समेत लकडाउन गर्न सुझाएको अवस्थामा महासंघको निर्वाचनको मिति तत्काल तोक्नुभन्दा पनि निर्वाचनको लागि अनुकूल समय नहुँदासम्म महासंघलाई सहमतिका आधारमा अगाडि बढाउनुपर्ने उनको भनाई छ ।

महासंघका पूर्वअध्यक्षहरु सहितको पछिल्लो पदाधिकारी भेलाले सरकारले सभा सम्मेलन खुला गरेको १५ दिनभित्र साधारणसभा गर्ने निर्णय गरेको थियो । कोरोनाका कारण गत चैतमा हुनुपर्ने महासंघको साधारण सभा साउन २६ र २७ गतेका लागि सारिएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।