बैंक वित्तीय संस्थाबाट कर्जा लिने उद्योग/व्यवसाय ७३ प्रतिशत

0
Shares

सञ्चालनमा रहेका उद्योग व्यवसायको स्रोत जुटाउने आधार भनेको बैंक वित्तीय संस्था छ । उद्योग व्यवसाय सञ्चालनका लागि आवश्यक पुँजी जुटाउनका लागि बैंक वित्तीय संस्था नै प्रमुख माध्यम रहेको स्पष्ट भएको हो ।

नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षण अनुसार सर्वेक्षणमा सहभागीमध्ये ७२.९ प्रतिशत उद्योग/व्यवसायीहरुले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट कर्जा लिएको देखिएको छ ।

लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिइ सञ्चालन हुने उद्योग व्यवसाय करिब १.३५ प्रतिशत रहेको अध्ययनले देखाएको छ । त्यसैगरी बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिइ ब्यावसाय गर्नेमा ८.६५ प्रतिशत रहेको केन्द्रीय बैंकको सर्वेक्षणले देखाएको छ । त्यसैगरी ५.१५ प्रतिशतले अन्य स्रोतबाट कर्जा लिएको देखिएको छ ।

कर्जा नलिएका उद्योग/व्यवसायहरुको संख्या ११.९५ प्रतिशत रहेको पाइएको छ । कृषि, वन तथा मत्स्यपालन, खानी तथा उत्खनन, उत्पादनमुलक उद्योग, विद्युत् ग्याँस तथा पानी, निर्माण, होटल तथा रेष्टुरेन्ट, शिक्षा र स्वास्थ्य तथा सामाजिक कार्यहरुका क्षेत्रमा राष्ट्रिय औसत भन्दा बढी प्रतिशतले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएको देखिएको छ ।

साना, मझौला र ठूला उद्योग/व्यवसायहरुले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट घरेलु र लघु उद्यम/साना खुद्रा व्यापारको तुलनामा धेरै कारोबार गरेको पाइएको छ । लघुवित्त वित्तीय संस्था, सहकारी संस्था र अन्य स्रोतबाट कर्जा लिनेमा भने घरेलु र लघु उद्यम/साना खुद्रा व्यापार धेरै रहेको देखिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।