गत आर्थिक वर्षको वित्तीय विवरणको पर्खाइमा शेयर लगानीकर्ता

0
Shares

नाफा बुक गर्ने र बजार प्रवेश गर्ने लगानीकर्ताबीचको प्रतिस्पर्धाले बिहीबारको शेयर बजार सामान्य घटेर बन्द भएको छ । बजार घट्दा कारोबार रकममा समेत गिरावट आएको छ ।

सरकारले कोरोना संक्रमणको दर बढेपछि काठमाण्डौ उपत्यकामा जोर-बिजोर प्रणाली लागू गरेपछि पुनः लकडाउन हुने हो कि भन्ने चिन्ता समेत देखिएको छ । जसले गर्दा पछिल्लो समयमा नाफा गरेकाहरु शेयर बिक्री गर्ने मुडमा छन् भने बजार अलिकति तल झरेदेखि बजार प्रवेश सुरमा पनि उत्तिकै लगानीकर्ता छन्।

कतिपय लगानीकर्ताहरु सूचीकृत कम्पनीहरुले प्रकाशित गर्ने वित्तीय विवरणको पर्खाइमा समेत देखिएको एक लगानीकर्ताले बताए । कम्पनीहरुको गत आर्थिक वर्षको प्रगति विवरण अध्ययन गरेर लगानी गर्ने तयारीमा रहेका लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ छ ।

विगतका वर्षहरुमा यतिबेला अधिकांश कम्पनीहरुले वित्तीय विवरण प्रकाशित गरिसकेका हुन्थ्ये तर यसपालि कोरोना नियन्त्रणका लागि गरिएको लकडाउनले कम्पनीको वित्तीय विवरण प्रकासनमा ढिलाइ  भएको छ ।

सामान्यतया आर्थिक वर्ष वा त्रैमासिक अवधि सकिएको ३० दिनभित्र वित्तीय विवरण प्रकाशित गर्नुपर्ने हुन्छ । कोरोनाको प्रभावका कारण कम्पनीहरुका वित्तीय विवरण के-कस्ता आउने हुन भन्नेमा पनि लगानीकर्ताको चासो उत्तिकै छ । अहिलेसम्म वित्तीय विवरण प्रकाशित गरेका केही कम्पनीहरुले भने प्रगतिउन्मुख विवरण सार्वजनिक गरेका छन्।

बिहीबार नेप्से परिसूचक १.२९ अंकले एक हजार ३८१.३७ विन्दुमा झरेकोे छ । यस दिन १८६ कम्पनीको ९१ करोड ८१ लाख ८९ हजार रुपैयाँ बराबरको २३ लाख ३७ हजार कित्ता शेयर खरिद बिक्री भएको छ।

नेप्से र कारोबार रकम घटे पनि यस दिन तीन कम्पनीहरुको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। गुराँस लघुवित्त, अजोड इन्स्योरेन्स र नेपाल फाइनान्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। महिला सहयात्रा लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.०६ प्रतिशत घटेको छ। त्यस्तै, यस स्वाभिमान लघुवित्त, कालिका पावर, हिमाल दोलखा हाइड्रोपावर र अपि पावरको लगायतको शेयर मूल्य घटेको छ ।

बिहीबार कारोबारमा आएका १२ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। कारोबारको आधारमा सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको ११ करोड ७८ लाखभन्दा बढीको कारोबार भएको छ भने दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड ४४ लाखभन्दा बढीको सेयर कारोबार भएको छ ।