नेशनल पेमेन्ट गेटवे सञ्चालनको काम अगाडि बढाउन अर्थमन्त्रीको निर्देशन

0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले नेशनल पेमेन्ट गेटवे सञ्चालनको काम यथाशीघ्र कार्यान्वयनका लागि सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।

बिहीबार बसेको उच्चस्तीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा अर्थमन्त्री खतिवडाले नेशनल पेमेन्ट गेटवे सञ्चालनका लागि सबै निकायहरुले आ–आफ्नो जिम्मेवारीको कार्य सम्पन्न गरी अर्को बैठकमा प्रगति सहित उपस्थित हुन निर्देशन दिए ।

त्यस्तै सरकारी ऋणपत्रको अभौतिकीकरण एवम् दोस्रो बजारमा कारोबार तथा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज तथा सीडीएस एण्ड क्लियरिङ्गको पुनर्संरचना, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि एवम् हेजिङ्ग सम्बन्धी नियमावली संशोधनका कामहरु समेत अगाडि बढाउन निर्देशन दिएका छन्।

यसैगरी घरेलु, साना तथा मझौला उद्यम एवम्  कोरोना प्रभावित पर्यटन व्यवसायमा श्रमिक– कर्मचारीको पारिश्रमिक भुक्तानी व्यवसाय सञ्चालनका लागि खडा गरिने कोष, नेपाल राष्ट्र बैंकबाट सञ्चालनमा आउने पुनर्कर्जा कोषको व्यवस्थापन र सञ्चालन, लघु बीमा तथा कोरोना रोगको बीमासम्बन्धी विषयमा छलफल भएको हो ।

बैठकमा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट बक्तव्य एवम् मौद्रिक नीतिमा उल्लिखित व्यवस्था कार्यान्वयनको तयारी लगायतका विषयमा छलफल भएको थियो ।

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर, सचिव (राजस्व), धितोपत्र बोर्डका अध्यक्ष, बीमा समितिका अध्यक्ष, नेपाल बैङ्कर्स संघका अध्यक्ष, सहकारी विभागका रजिष्ट्रार तथा कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार लगायतका पदाधिकारीहरुको उपस्थिति थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।